भोटेकोशी–त्रिशूली विपद् संसदीय विशेष समितिको सभापति बने पराजुली

भोटेकोशी–त्रिशूली विपद् संसदीय विशेष समितिको सभापति बने पराजुली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा सांसद गणेश पराजुली चयन भएका छन् ।

सिंहदरबारस्थित संघीय संसद्को कार्यव्यवस्था हलमा बुधबार बसेको समितिको पहिलो बैठकले पराजुलीलाई सभापति चयन गरेको हो ।

रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि त्यसको कारण, प्रभाव तथा विपद्पछिको अवस्थाबारे अध्ययन गर्न प्रतिनिधि सभाले असोज ५ गते १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।

समितिको कार्यावधि पहिलो बैठक बसेको मितिले ३ महिना तोकिएको छ । बुधबार समितिको पहिलो बैठक बसेको छ ।

समितिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव र जलवायु न्यायका विषयमा अध्ययन गर्नेछ । हिमाली क्षेत्रको तापक्रम, हिमपात, हिमनदी, हिमताल तथा जलाधारमा भइरहेको परिवर्तन र त्यसबाट उत्पन्न जोखिमसम्बन्धी उपलब्ध अध्ययन तथा तथ्यांकको समीक्षा गरिनेछ ।

अध्ययन तथा निगरानीमा रहेका कमी पहिचान गरी वैज्ञानिक अनुसन्धान र नियमित अनुगमनलाई थप प्रभावकारी बनाउने उपाय सिफारिस गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ ।

समितिले भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद्को उत्पत्ति, घटनाक्रम, तत्कालीन कारण तथा जोखिम बढाउने कारकको वैज्ञानिक तथा विज्ञ प्रमाणका आधारमा अध्ययन गर्नेछ । विपद्को जलवायु परिवर्तनसँग हुन सक्ने सम्बन्ध, सीमापार जलाधारको प्रभाव तथा तल्लो तटीय क्षेत्रमा परेको असरको समेत समीक्षा गर्ने कार्यादेश समितिलाई दिइएको छ ।

समितिले विपद्बाट प्रभावित नागरिकको अवस्था, खोज तथा उद्धार, बेपत्ता नागरिकको स्थिति, राहत वितरण, सुरक्षित अस्थायी बसोबास, आधारभूत सेवा तथा जीविकोपार्जन पुन:स्थापनाको अवस्थासमेत अध्ययन गर्नेछ ।

प्रभावित नागरिकका आवश्यकताका आधारमा तत्काल तथा मध्यमकालीन सुधारका उपाय सिफारिस गर्ने र विपद् प्रभावित क्षेत्रमा दिगो तथा सुरक्षित पुनर्निर्माणका लागि आवश्यक मार्गचित्रबारे सुझाव दिने जिम्मेवारी पनि समितिलाई दिइएको छ ।