अनुसन्धानका लागि पाँच दिनको म्याद


 काठमाडौं – राजधानीको गौशालाबाट बुधबार राति पक्राउ परेका गुन्डा नाइके गणेश लामाको अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले बिहीबार पाँच दिनको म्याद दिएको छ । ६ राउन्ड गोली र पेस्तोलसहित पक्राउ परेका लामालाई बुधबार राति पशुपति भिजनबाट पक्राउ गरी महानगरी प्रहरी वृत्त गौशालामा राखिएको थियो । परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले कांग्रेस नेतासमेत रहेका लामाको अनुसन्धानका लागि अदालतबाट समय लिएको बताए ।

‘पेस्तोल गोलीसहित पक्राउ परेका छन्,’ परिसर प्रमुख पोखरेलले भने, ‘उनको विषयमा अनुसन्धान गर्नुपर्ने भएकाले अदालतबाट म्याद लिइएको हो ।’ लामाबारे थप अनुसन्धान गर्न उनलाई टेकु ल्याइएको परिसरका प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए । लामालाई प्रहरीले हातहतियार तथा खरखजनामा काठमाडौं जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान गर्ने भएको छ ।

पक्राउ परेका लामाले आफूलाई अरू कसैले गोली हान्न खोजेका बेला पेस्तोल खोसेर राखेको दाबी गरेपछि प्रहरी ती मान्छे चिनाउनुपर्ने भन्दै उनलाई अनुसन्धानका लागि अदालतबाट म्याद लिएको हो । हतियार आफ्नो नभएको बताउँदै लामाले प्रहरीले उनीविरुद्ध तयार पारेको मुचुल्कामा भने हस्ताक्षर गर्न मानेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement