सिंहदरबारमा नेताहरु त्रसित: कसले उल्ट्याउन खोज्दैछ व्यवस्था ?


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार सर्वदलीय बैठक डाके । सिंहदरबारमा बसेको बैठकमा गणतन्त्र ल्याउन मुख्य भूमिका खेलका दलका नेताहरु सहभागि भए ।

उक्त बैठकमा जाजरकोट भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल हुने आँकलन गरिएको थियो । तर, बैठकमा व्यवस्थामाथि खतरा भएको भन्दै उक्त विषयमा नेताहरुले जोड दिए ।

प्रधानमन्त्रीले मंगलवार बैठक डाक्नुको मुख्य उद्देश्य भने व्यवस्थामाथि संकट उत्पन्न भएको बुझिएको छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले राजतन्त्र पक्षधर राप्रपा र नयाँ दल रास्वपालाई बाहिर राखेर ‘१२ बुँदे पक्षधर’ दलहरुलाई मात्रै निम्त्याएका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले केही समूहले गणतन्त्रलाई बदनाम गरेर समाजमा अराजकता सिर्जना गर्ने काम गरिरहेको बताए। ‘विभिन्न ठाउँमा सामाजिक सद्भाव भड्काउने कोसिस भइरहेको छ। जसलाई जे मन लाग्छ, त्यही भन्न थाले। संघीय लोकतान्त्रिक गणतन्त्र निकै ठूलो संघर्ष गरेर ल्याएका हौं। ठूलो फोर्स त होइन, तर समाज बिगारिरहेका छन्। जरुरी पर्‍यो भने मुखरित भएर जानुपर्छ कि’, उनले भने ।

त्यस्तै सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्थामाथि खतरा उत्पन्‍न भएको हो? भन्दै प्रचण्डलाई प्रश्‍न गरेका थिए। सभापति देउवा र अध्यक्ष ओलीले व्यवस्थाविरुद्ध खतरा उत्पन्‍न भएको हो भने त्यस्ता गतिविधिमा सरकारले नियमन र नियन्त्रण किन नगरेको भन्दै प्रश्‍न गरेका थिए। उनीहरुले गणतन्त्रविरुद्ध हुने गतिविधिमा सरकारले नियमन र नियन्त्रण गर्नुपर्ने र त्यसमा आफूहरुको साथ रहने प्रतिबद्धता व्यक्त गरे।

समग्रमा भन्नुपर्दा मंगलबार सिंहदरवारमा बसेको बैठकले सामाजिक सञ्जालको ‘अराजकता’ले व्यवस्थामाथि नै जोखिम बढेको निश्कर्ष निकालेको छ । जसकारण पछिल्लो समय सामाजिक सञ्जालमा अराजकता बढेको भन्दै शीर्ष नेताहरु चिन्तित र त्रसित देखिएका छन् ।

छिल्लो समय अहिलेको व्यवस्थाले मुलुकलाई आर्थिक र स्वाधिनताको हिसाबमा कमजोर बनाएको भन्दै असन्तुष्टिका स्वरहरु बढ्न थालेका छन्। केहीले राजतन्त्र फर्काउने घोषणा गर्दै विभिन्‍न अभियानहरु सञ्‍चालन गरिरहेका छन्। संघीय संसद्‌मा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलहरुले नै राजतन्त्र ठिक भएको वकालत गरिरहेका छन्।

नेताहरुले प्रणाली बदले पनि प्रवृत्ति नबदलेका कारण आमजनतामा निराशा बढ्दै गएको छ। आम जनतामा निराशा बढ्दै गएका बेला ‘१२ बुँदे पक्षधर’ दलहरु व्यवस्थामाथि नै खतरा बढेको भन्दै चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement