टिकटक काण्ड : रजतपटविरुद्ध कानूनी उपचार खोज्ने मोडल गरिमाको चेतावनी


काठमाण्डु — मोडल गरिमा शर्माले टेलिभिजन कार्यक्रम रजतपट र  प्रस्तोता प्रकाश सुवेदी विरुद्ध कानूनी प्रक्रियामा जाने बताएकी छन् ।

उनले आफू र गायक दुर्गेश थापाबीच केही दिन अगाडि टिकटक लाइभमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा बोलिएका संवादहरूका टुक्राटुक्री तानेर राष्ट्रिय टेलिभिजनमा सामाग्री प्रसारण गरेर आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप समेत सुवेदीलाई लगाएकी हुन् ।

आज एक विज्ञप्ति जारी गर्दै शर्माले असार २४ गते एपिवान टेलिभिजनबाट प्रसारित रजतपट कार्यक्रममा आफ्नो विषयमा अतिरञ्जित र भ्रमपूर्ण रिपोर्ट प्रसारण गरेको भन्दै गम्भिर आपत्ति जनाएकी छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केही दिन अगाडि टिकटक लाइभमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा बोलिएका संवादहरूका टुक्राटुक्री तानेर राष्ट्रिय टेलिभिजनबाट उक्त सामाग्री प्रसारण गर्नु सरासर गलत हो । उक्त सामाग्री तयार गर्नुअघि कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी ज्यूसँग टेलिफोन सम्पर्क भै, सामान्य विषय रहेको र हाँसो ठट्टा मात्र रहेको भनी सत्यतथ्य जानकारी गराउँदा गराउँदै पनि यसरी बदनियतपूर्ण समाचार प्रसारित गर्नुले म माथि गम्भिर अन्याय भएको महसुस गरेको छु । तसर्थ न्यायका निम्ति सम्बन्धित निकायसम्म पुग्न वाध्य भएको व्यहोरा पनि यसै विज्ञप्तिमार्फत जानकारी गराउनु चाहन्छु ।’

उनले आफ्नो टिकटकमा समेत दुर्गेश थापासँगको लाइभको भिडियो पोष्ट गर्दै अभिनय गर्दैमा कोही कसैका प्रेमी नहुने जनाएकी छिन् । उनले लेखेकी छिन् , ‘कति सजिलो छ यहा, नारी माथि दाग लगाउन, सत्य तथ्य कुरा नबुझी एपिवान जत्रो टेलिभिजनले झुटो रिपोर्ट बनाउने । सबै दर्शकलाई नमस्ते , कलाकार जति गलत हुँदैनन् । ’

मोडल शर्मा केही दिनअघि गायक दुर्गेश थापासँग टीकटक लाइभमा आएकी थिइन् । उनीहरु बीचको कुराकानीको सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यही कुराकानीमा दुर्गेश र गरिमाबीच लामो प्रेम रहेको चर्चा भएको थियो ।

यही विषयलाई लिएर टेलिभिजन कार्यक्रम रजतपटले ‘समाचार’ बनाएको थियो । समाचारमा विवाहित पुरुषसँग प्रेम सम्बन्धमा रहेको भनेर गरिमामाथि रजतपटले लान्छना समेत लगाएको छ । प्रस्तोता प्रकाश सुवेदीले कार्यक्रममा ‘बिनाशकाले विपरित बुद्धि’ भनेर गरिमामाथि टिप्पणी समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement