गृहमन्त्री गुरुङसँग वार्ता गर्न मृतक गरिमाका बुवाआमा काठमाण्डुमा

गृहमन्त्री गुरुङसँग वार्ता गर्न मृतक गरिमाका बुवाआमा काठमाण्डुमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्न बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ मा बलात्कारपछि हत्या गरिएकी ३ वर्षिया गरिमा चौधरीका बुवा मनोज चौधरी र आमा मानमती चौधरी काठमाण्डु पुगेका छन् ।

बालिका गरिमा हराएको ३ दिनसम्म पनि प्रहरीले प्रभावकारी रूपमा खोजी नगरेको तथा परिवारले किटानी जाहेरी दिएका व्यक्तिलाई समयमै अनुसन्धानको दायरामा नल्याएको आरोप पीडित परिवारको छ ।

मंगलबार साँझ बालिकाको शव भेटिएपछि प्रहरीले जीतपुरसिमरा–२ का २ किशोरलाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान अघि बढिरहेका बेला पीडित परिवारलाई काठमाण्डु ल्याइएको छ ।

गरिमाको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै शनिबार काठमाण्डुको माइतीघरमा समेत प्रदर्शन गरिएको छ । स्वतन्त्र युवाहरूले आयोजना गरेको प्रदर्शनमा घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरिएको छ ।

प्रदर्शनकारीहरूले बालिकाको खोजी तथा अनुसन्धानमा प्रहरीबाट भएको भनिएको ढिलाइबारे प्रश्न गरेका छन् ।

पीडित परिवारसँग हुने गृहमन्त्रीसँगको छलफलमा बालिका हराएदेखिको प्रहरी अनुसन्धान, परिवारले दिएको जाहेरी, शव भेटिएको अवस्था तथा घटनाको अनुसन्धान लगायत विषयमा छलफल हुने बताइएको छ ।