काठमाण्डु – नेपाल आयल निगमले भोलि बुधबारदेखि देशभर पुन: १४.२ किलोग्रामको एलपी ग्यास सिलिन्डर भर्ने र साविककै मूल्यमा बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
सोमबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार भारतीय आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट ग्यास लोडिङको अवस्थामा सुधार आउनुका साथै उपभोक्ताबाट १४.२ केजी ग्यास सिलिन्डरको उच्च माग रहेकाले निगमले पुरानै प्रणालीमा फर्किने निर्णय गरेको हो ।
यसअघि आपूर्ति व्यवस्थापनलाई सहज बनाउन निगमले २०८२ फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म ७.१ केजी एलपी ग्यास भरेर वितरण गर्ने व्यवस्था लागू गरेको थियो ।
निगमका अनुसार अब १४.२ किलो ग्यास सिलिन्डरको पूर्ण मूल्य २ हजार ६० रुपैयाँ कायम रहनेछ ।
यद्यपि ७.१ किलोका सिलिन्डर पूर्णरूपमा बजारबाट प्रतिस्थापन नभएसम्म केही समय दुवै प्रकारका सिलिन्डर बिक्रीवितरणमा रहने भएकाले उपभोक्ताले ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य यकिन गरेर मात्र खरिद गर्न निगमले आग्रह गरेको छ ।
निगमले हाल भारतीय आयल कर्पोरेसनबाट नियमित रूपमा एलपी ग्यास आयात भइरहेकाले आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न पनि उपभोक्तासँग अनुरोध गरेको छ ।





प्रतिक्रिया