काठमाण्डु– ग्यास बिक्रेता महासंघले देशभर खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला सरकार समस्या समाधानमा भन्दा प्रचारबाजीमा लागेको भन्दै आपत्ति जनाएको छ ।
महासंघ अध्यक्ष ज्ञानेश्वर अर्यालले एक विज्ञप्ति जारी गर्दै डिलर प्रणालीको बेवास्ता गरेर बिक्री केन्द्रबाट ग्यासको प्रत्यक्ष बिक्री गर्ने सरकारको बरैयाले अभाव थप चर्किएको बताएका छन् । अर्यालले विज्ञप्तिमा सरकार समस्याप्रति गम्भीर नरहेको आरोप लगाएका छन् । बिक्री केन्द्रबाट ग्यास बाँड्ने प्रथा अन्त्य गरेर तत्काल डिलरमार्फत मात्र ग्यास वितरण गर्न महासंघले माग गरेको छ । ‘सरकार, उद्योग र बिक्री केन्द्रका नामबाट आफैं ग्यास बिक्री गर्ने’, विज्ञप्तिमा भनिएको छ, ‘अनि अनुगमनका नाममा आमबिक्रेतालाई अनावश्यक दुःख दिने सरकारी रवैयाप्रति ग्यास बिक्रेता महासंघ घोर आपत्ति प्रकट गर्दछ ।’
बिक्रेतालाई ग्यास नदिने तर, अनुगमनका नाममा उनीहरूमाथि दबाब दिने सरकारी रवैयाले बजार अस्तव्यस्त बनेको टिप्पणी उनको छ ।
ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्था आउनुमा पनि वितरण प्रणाली व्यवस्थित हुन नसक्नु मुख्य कारण रहेको महासंघको ठहर छ ।
महासंघका अनुसार पछिल्लो चार महिनामा करिब ६० हजार टन ग्यास कम आयात भएको छ । अर्कोतर्फ बजारमा आवश्यकताभन्दा बढी करिब ८० लाख नयाँ सिलिन्डर थपिएका छन् । नयाँ सिलिन्डरको बिक्री नरोकिएकाले आगामी दिनमा अभाव अझ गम्भीर बन्न सक्ने महासंघले चेतावनी दिएको छ ।
नेपाल आयल निगम, उद्योगm वाणिज्य तथा आपूर्ति मन्त्रालय र सरकारले वास्तविक समस्या पहिचान गरी समाधान खोज्नुको सट्टा प्रचारबाजीमा मात्रै सीमित भएको आरोप लगाउँदै महासंघले तत्काल वितरण प्रणाली सुधार्न माग गरेको छ ।




प्रतिक्रिया