होटल रेडिसनमा छापा, १८४ वटा भरिएका सिलिन्डर फेला

होटल रेडिसनमा छापा, १८४ वटा भरिएका सिलिन्डर फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– उद्योग मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाण्डुस्थित होटल रेडिसनमा छापा मारेको छ ।

बिहीबार छापा मार्दा ठूलो परिमाणमा ग्यास सिलिन्डर मौज्दात राखिएको भेटिएको छ।

विभागका अनुसार होटलमा नेपाल ग्यासका ११७ वटा र एसटीसी ग्यासका ६७ वटा गरी १८४ वटा भरिएका सिलिन्डर फेला परेका छन्। त्यस्तै, होटलका चुलोमा करिब ७० वटा सिलिन्डर प्रयोग भइरहेको अवस्थामा भेटिएको विभागले जनाएको छ।

बजारमा पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहे पनि उपभोक्ताले ग्यास नपाएको गुनासो बढेपछि विभागले होटल तथा व्यावसायिक प्रतिष्ठानको अनुगमन तीव्र बनाएको थियो। सोही क्रममा गरिएको निरीक्षणमा रेडिसन होटलमा ठूलो परिमाणमा ग्यास मौज्दात राखिएको भेटिएको हो।

उपभोक्ताले बजारमा ग्यास अभाव झेलिरहेका बेला होटलमा ठूलो परिमाणमा ग्यास भण्डारण गरिएको पाइएपछि सम्बन्धित होटलमाथि कारबाहीको तयारी भइरहेको उद्योग मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बजारमा पर्याप्त ग्यास हुँदाहुँदै उपभोक्ताले अभाव भोग्नुपर्ने अवस्था अन्त्य गर्न होटल, व्यावसायिक प्रतिष्ठान तथा ग्यासको अनधिकृत भण्डारणमाथिको निगरानी थप कडाइ गर्ने जनाएको छ।