पछिल्ला तीन दिनमा ८७ हजार ८७७ सिलिण्डर ग्यास काठमाण्डु भित्रिए

पछिल्ला तीन दिनमा ८७ हजार ८७७ सिलिण्डर ग्यास काठमाण्डु भित्रिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाण्डु उपत्यकामा वैकल्पिक मार्गबाट एलपी ग्यास ल्याइएकाे छ । पछिल्ला तीन दिनमा ८७ हजार ८७७ सिलिण्डर ग्यास काठमाण्डु भित्रिएको छ।

नेपाल आयल निगमका अनुसार १८ वटा ग्यास कम्पनीले तराईका विभिन्न जिल्लामा रहेका उद्योगबाट ग्यास ‘रिफिलिङ’ गरी वैकल्पिक सडकमार्फत काठमाण्डु ल्याएका हुन्।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार भदौ १८ गते २४ हजार ४९४, १९ गते ३४ हजार १३४ र २० गते २९ हजार २४९ सिलिण्डर उपत्यका भित्रिएको हो।

त्रिशूली नदीको कटानका कारण भदौ १४ गते कृष्णभीरमा सडक अवरुद्ध भएपछि पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर र ग्यास बुलेट बाटोमै रोकिएका थिए। त्यसपछि निगमले तराईका उद्योगमा भरिएका ग्यास सिलिण्डर वैकल्पिक मार्गबाट काठमाण्डु ल्याउने व्यवस्था मिलाएको हो।

आपूर्ति व्यवस्थालाई निरन्तरता दिन निगमले सार्वजनिक बिदाका दिनसमेत ग्यास ‘रिफिलिङ’ र ढुवानी नियमित गर्न उद्योगहरूलाई निर्देशन दिएको जनाएको छ।

निगमले मुख्य राजमार्ग अवरुद्ध रहे पनि वैकल्पिक मार्गमार्फत काठमाण्डु उपत्यका तथा आसपासका क्षेत्रमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति जारी राखेको जनाएको छ।