राष्ट्रियसभा चुनावमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न शीर्ष नेताहरूले आह्वान गर्ने


काठमाण्डु – आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न मतदातालाई आग्रह गर्दै शीर्ष नेताहरूले संयुक्त वक्तव्य जारी गर्ने भएका छन् ।

सत्तारुढ दलहरूबीच भएको राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको बैठकले मतदातालाई गठबन्धनका उम्मेदवारहरूको पक्षमा मतदानका लागि शीर्ष नेताहरूलाई संयुक्त वक्तव्य जारी गर्न लगाउने निर्णय गरेको छ ।

बैठकले राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समिति २०८० को सचिवमा अधिवक्ता केशवराज जोशीलाई चयन गर्ने निर्णय गरेको छ ।

राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति र जिल्ला समन्वय समितिलाई गठबन्धनका उम्मेदवारहरूको पक्षमा मतदातासँग चुनाव प्रचारप्रसारदेखि मतगणनासम्म गर्नुपर्ने कार्यबारे आवश्यक निर्देशन दिने बैठकले निर्णय गरेको छ ।

राष्ट्रियसभा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ । सत्तारुढ गठबन्धन दलले निर्वाचनमा साझा उम्मेदवार उठाएका छन् । जसमा नेपाली कांग्रेसले १० सिट, नेकपा माओवादी केन्द्रले ६ सिट, नेकपा एकीकृत समाजवादीले २ सिट र जनता समाजवादी पार्टीले १ सिटमा साझा उम्मेदवार दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement