गट्ठाघर दुर्घटना : ट्राफिक प्रहरीले स्कुटर नरोकेको पुष्टि

गट्ठाघर दुर्घटना : ट्राफिक प्रहरीले स्कुटर नरोकेको पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भक्तपुरको गट्ठाघरमा बिहीबार दुर्घटनामा परेको स्कुटर ट्राफिक प्रहरीले नरोकेको पुष्टि भएको छ ।

काठमाडौंबाट भक्तपुर तर्फ जाँदै गरेको बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले पछाडीबाट ठक्कर दिँदा चालकको मृत्यु भएको थियाे ।

दुर्घटनाको सिसिटिभी फुटेज सार्वजनिक भएको छ । फुटेजको दृश्य अनुसार ठक्कर दिएपछि चालकलाई ट्रकले लछारेको देखिन्छ । भाडा ट्रकले बायाँतर्फ गुडिरहेको स्कुटरलाई ठक्कर दिएको देखिएको छ । त्यहाँ उभिएका ३ जना मध्ये एक जना ट्राफिक प्रहरी दौडिँदै ट्रकतर्फ अघि बढेको देखिन्छ । एक ट्राफिक दौडिएपछि अरु दुई ट्राफिक पनि पछि पछि गए लगत्तै ट्रक रोकिन्छ र एक व्यक्ति ट्रकबाट ओर्लिएको देखिन्छ । ट्राफिक प्रहरीको चेकजाँच कटेपछि दुर्घटना भएको फुटेजमा देखिएको छ ।
ट्रक चालकले बायाँतर्फ गुडिरहेको स्कुटर देख्न नसक्दा दुर्घटना भएको ट्राफिक प्रहरीका अधिकृतहरु बताउँछन् । मृत्यु हुनेमा ओखलढुंगाको चिसंखुगढी गाउँपालिका- ४ घर भएका ६५ वर्षीय उत्तम कोइराला छन् ।

ट्रकको ठक्करबाट स्कुटरमा सवार व्यक्तिको मृत्यु भएपछि सुरुमा भक्तपुर प्रहरीले मृतक महिला भएको विवरण सार्वजनिक गरेको थियो। झण्डै पाँच घण्टपछि मात्रै मृतक पुरुष भएको पुष्टि भएकाे थियाे । महिलाकाे जस्ताे हुलिया देखेकाे र दुर्घटना हुने बित्तिकै त्यहाँ लफडा सुरु भएकाले राम्ररी शव हेर्न नपाउँदा अनुमान गलत भएको भक्तपुर प्रहरीले जनाएकाे छ ।

प्रत्यक्षदर्शीहरुले ट्राफिकले जाँच गर्ने क्रममा रोकेको स्कुटरलाई ट्रकले ठक्कर दिएको भन्दै बिहीबार प्रदर्शन गरेका थिए ।

स्कुटरलाई ठक्कर दिने ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रकलाई भने काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २ मा राखिएको छ ।