काठमाण्डु- गृह मन्त्रालयले गौर घटनाको छानबिनका लागि सम्बन्धित निकायलाई पत्राचार गरेको छ । गृह मन्त्रालयले उक्त घटनाका दोषीलाई कारबाही प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको हो।
गौर घटनाका पीडितहरुले दोषीलाई कारबाहीको माग गर्दै आएका छन्। गौर घटनाका दोषी उपर कारबाही हुनुपर्ने माग गर्दै पीडितहरु आन्दोलनमै उत्रिएपछि साउन २३ गते पीडित र गृह मन्त्रालयबीच सहमति भएको थियो। उक्त सहमति अनुसार नै मन्त्रालयले सम्बन्धित निकायलाई पत्राचार गर्दै दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाइएको छ ।
यसभन्दा अघि उक्त घटनाका सम्बन्धमा पीडितसँग सरकारले सम्झौता गरेपछि जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट बनेका थिए । उनले गौर घटनाको छानबिन अगाडि बढे सरकार छाड्ने चेतावनी समेत दिएका थिए ।
उपेन्द्र यादवले सरकार छाड्ने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले उक्त घटनाको छानबिन नगर्ने आश्वासन दिएका छन् । तर, गृहमन्त्रालयले गृह मन्त्रालयले गौर घटनामा संलग्न दोषीलाई कारबाही प्रक्रिया अगाडि बढाउन पत्राचार गरेसँगै उपेन्द्रलाई पूनः धक्का लागेको छ ।
केही दिनअघि तराईमा आयोजित जसपाको एक कार्यक्रममा यादवले गौर घटना राजनीतिक घटना भएकाले कारबाही प्रक्रिया अघि बढे देशमा आगो बलने चेतावनीसमेत दिएका थिए।
२०६३ सालमा रौतहटको गौरमा माओवादीले आयोजना गरेको सभामा भएको आक्रमणमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । सो घटनाका पीडितले हत्याकाण्डमा उपेन्द्र यादवको संलग्नता रहेको बताउँदै आएका छन् ।
यो पनि पढ्नुहोस्, प्रचण्डसँग उपेन्द्र यादव असन्तुष्ट, सरकार छाड्ने भन्दै मध्यरातमा ओलीसँग भेट




प्रतिक्रिया