प्रचण्डसँग उपेन्द्र यादव असन्तुष्ट, सरकार छाड्ने भन्दै मध्यरातमा ओलीसँग भेट


काठमाण्डु- सरकारले गौर हत्याकाण्डको छानबिन गर्ने भएपछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट बनेका छन् । मंगलवार गौर हत्याकाण्ड पीडित सङ्घर्ष समिति र सरकारबीच पाँच बुँदे सहमति भएको थियो ।

पाँच बुँदे सहमतिमा २०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको घटनाको छानविन गर्ने पनि उल्लेख गरिएको छ । सरकारले उक्त घटनाको छानविन गर्ने भएपछि जसपाका अध्यक्ष यादव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट बनेका हुन् । यादवले सरकार छाड्ने चेतावनीसमेत दिएका छन् ।

सरकारले मंगलवार गौर हत्याकाण्डपीडितसँग पाँच बुदे सहमति गरेलगत्तै उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । देउवासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आफूलाई अफ्ठ्यारोमा पार्न खोजेको भन्दै सरकार छाड्ने चेतावनी दिएका हुन् । देउवाले उपेन्द्रलाई यस्तो निर्णय नलिन आग्रह गरेका छन् ।

देउवाले यस विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्ने भन्दै तत्काल सरकार छाड्ने निर्णय नलिन उपेन्द्रसँग आग्रह गरेका हुन् । त्यस्तै मंगलवार रातीनै उपेन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

बालकोटस्थित ओलीको निवासमा भएको भेटमा उपेन्द्रले सरकार छाड्ने मनस्थितिमा पुगेको भन्दै नयाँ सरकारको सम्भावनाबारे समेत छलफल भएको जनाइएको छ । यसैबीच आज जसपाले आकस्मिक रूपमा कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठकमा गौर हत्याकाण्ड छानबिन गर्न सरकारले समिति बनाउने विषयमा छलफल हुनेछ ।

२०६३ सालमा रौतहटको गौरमा माओवादीले आयोजना गरेको सभामा भएको आक्रमणमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । सो घटनाका पीडितले हत्याकाण्डमा उपेन्द्र यादवको संलग्नता रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement