रास्वपाले किन दियो अर्थमन्त्री डा. वाग्लेलाई बधाइ ? (विज्ञप्तिसहित)

रास्वपाले किन दियो अर्थमन्त्री डा. वाग्लेलाई बधाइ ? (विज्ञप्तिसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री तथा उपसभापति डा. स्वर्णिम वाग्लेलाई बधाइ दिएको छ ।

अमेरिकी पत्रिका ‘टाइम’ को सन् २०२६ को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्व (टाइम १०० क्लाइमेट) को सूचीमा वाग्ले समेटिएकोमा रास्वपले उनलाई बधाई दिएको हो।

महामन्त्री विपिन कुमार आचार्यले विज्ञप्ति जारी गर्दै डा. वाग्लेलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका हुन्।

पार्टीले जारी गरेको विज्ञप्तिमा वाग्लेले जलवायु वित्त परिचालन, स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीगत सुधारमा लिएको नेतृत्व तथा अग्रसरता नेपालका लागि सदैव उल्लेखनीय रहेको बताइएको छ।

‘नेपाललाई संयुक्त राष्ट्रसंघको जलवायुसम्बन्धी नोक्सानी तथा क्षति कोषबाट रकम विनियोजित हुने पहिलो देश बनाउने पहल वाग्लेले गरेका हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘विपद्पछि नागरिकका लागि अर्बौँ आर्थिक सहायता परिचालन गर्न सफल हुनु उनको अर्को महत्त्वपूर्ण योगदान हो।’ यिनै कामलाई विश्व समुदायले जानकारीमा राखेर उनलाई यो सूचीमा समेटेको पार्टीको ठहर छ।

नेपालले जलवायु संकटमा नगण्य योगदान गरे पनि यसको असर भने असमान रूपमा भोगिरहेको छ। डा। वाग्लेको यो उपलब्धि उनको व्यक्तिगत प्रयासको सम्मान मात्र नभएको रास्वपाले जनाएको छ।

‘यो उपलब्धि जलवायु संकटले प्रत्यक्ष असर पारिरहेका नेपालजस्ता देश र समुदायको सरोकारप्रति विश्वको ध्यानाकर्षण पनि हो,’ महामन्त्री आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। जलवायु परिवर्तनको असर भोग्ने समुदायका लागि पर्याप्त वित्त, अनुकूलन सहयोग र न्यायोचित सम्बोधन सुनिश्चित गर्न अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई व्यवहारमा उतार्न आवश्यक रहेकोमा पार्टीले जोड दिएको छ।

रास्वपाले यस उपलब्धिलाई नेपालको जलवायु कूटनीति र न्यायपूर्ण जलवायु कार्यका लागि थप जिम्मेवारी र अवसरका रूपमा लिएको छ। आगामी दिनमा पनि जलवायु संकटबारे नेपालको आवाज सशक्त रूपमा उठाउन र प्रभावित नागरिकलाई न्याय सुनिश्चित गर्दै राष्ट्रिय हितलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढंगले प्रस्तुत गर्न डा। वाग्लेले निरन्तर योगदान पुर्‍याउने विश्वास पार्टीले व्यक्त गरेको छ।