बेलायतका लागि प्रस्तावित राजदूत जबराको कार्ययोजना : गोर्खा सैनिकदेखि आर्थिक कूटनीतिसम्म प्राथमिकता

बेलायतका लागि प्रस्तावित राजदूत जबराको कार्ययोजना : गोर्खा सैनिकदेखि आर्थिक कूटनीतिसम्म प्राथमिकता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत एवम् पूर्व प्रधानसेनापति गौरव शमशेर जबराले आफ्नो प्रतिबद्धता संसदीय सुनुवाइ समितिमा पेश गरेका छन्।

उनले प्रस्तुत गरेको कार्ययोजनामा आर्थिक तथा वाणिज्य कूटनीति र गोर्खा सैनिकको मामिलालाई पनि प्राथमिकतामा राखिएको छ।

बेलायतका लागि प्रस्तावित राजदूत जबराले आर्थिक कूटनीति, गोर्खा मामिला र हरित साझेदारीलाई प्रमुख प्राथमिकतामा राखेका हुन्।

जबराले सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिसमक्ष नेपाली सेनामा ४२ वर्षको सेवा अनुभव र प्रधानसेनापतिको जिम्मेवारीको अनुभवले बेलायतसँगको सम्बन्धलाई उचाइमा लैजाने बताएका छन्।

जबराले आफ्नो भूमिकालाई कुनै एक क्षेत्रमा मात्र सीमित नराखी नेपाल सरकार र जनताको प्रतिनिधिको रूपमा समग्र राष्ट्रिय हितको प्रवर्द्धनमा केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले ‘सैनिकलाई आदेश दिन प्रशिक्षित गरिन्छ, तर कूटनीतिज्ञले सुन्न र सम्बन्ध निर्माण गर्न जान्नुपर्छ’ भन्दै कूटनीतिक जिम्मेवारीलाई विनम्रता, धैर्य र समझदारीका साथ निर्वाह गर्ने बताए।

उनका प्राथमिकता :

आर्थिक तथा वाणिज्य कूटनीति :

दूतावासलाई बेलायती पूँजी, प्रविधि, विशेषज्ञता र बजारसँग नेपाली उद्यमी तथा अवसरहरू जोड्ने माध्यमका रूपमा उपयोग गरिने उनको योजना छ। बेलायती लगानी भित्र्याउन, नेपाली वस्तु तथा सेवाको निर्यात प्रवर्द्धन गर्न र नेपाल-बेलायत व्यवसाय सञ्जाल (नेपाल-यूके बिजनेस नेट्वकर्क) स्थापना गर्न जोड दिइने बताएका छन्।

गोर्खा मामिला र द्विपक्षीय संवाद :

ब्रिटिश गोर्खा सैनिक तथा भूतपूर्व सैनिकहरूको त्याग र योगदानको उच्च सम्मान गर्दै पेन्सन लगायत लामो समयदेखि समाधान हुन बाँकी रहेका विषयहरूलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत रचनात्मक संवाद गरी व्यावहारिक समाधान खोजिने उनको योजना छ। टकरावभन्दा संवाद र भाषणभन्दा व्यावहारिक परिणामलाई प्राथमिकता दिइने जबराले बताएका छन्।

विकास, जलवायु र हरित साझेदारी :

नेपालको जलविद्युत्, नवीकरणीय ऊर्जा, हिमाली जैविक विविधता र समुदायमा आधारित संरक्षणको अनुभवलाई बेलायती लगानी, अनुसन्धान र प्रविधिसँग जोडेर हरित अर्थतन्त्र प्रवर्द्धन गरिने जबराको योजना छ।

शिक्षा, सीप र प्रविधि हस्तान्तरण :

दुवै देशका विश्वविद्यालयहरूबीच साझेदारी, प्राविधिक तथा व्यावसायिक सीप विकास, डिजिटल प्रविधि र जलवायु विज्ञानका क्षेत्रमा अनुसन्धान सहकार्य विस्तार गरिनेछ। बेलायतमा रहेका नेपाली पेसाकर्मीहरूलाई ज्ञान साझेदारका रूपमा जोड्ने नीति लिइनेछ।

सशक्त डायस्पोरा र जनस्तरीय सम्बन्ध :

बेलायतमा रहेका पूर्व गोर्खा सैनिक, विद्यार्थी, उद्यमी, प्राज्ञिक व्यक्ति तथा युवा पुस्तालाई केवल सहयोगको पात्रका रूपमा नभई दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने मुख्य साझेदारका रूपमा सहभागी गराइनेछ।

संसदीय तथा सार्वजनिक कूटनीति :

बेलायती संसद्, सांसदहरू, थिंक ट्याङ्क, विश्वविद्यालय तथा सञ्चारमाध्यमहरूसँग निरन्तर संवाद कायम गरी नेपालको दृष्टिकोण र प्राथमिकतालाई स्पष्ट रूपमा प्रस्तुत गरिने जबराले बताएका छन्।

पहिलो वर्षका प्रमुख लक्ष्य र सफलताको मापन :

प्रस्तावित राजदूत जबराले आफ्नो पहिलो वर्षमा१० वटा व्यावहारिक उद्देश्यहरू निर्धारण गरेका छन्। जसमा नियमित राजनीतिक संलग्नता, नेपाल-बेलायत व्यवसाय सञ्जाल, जलविद्युत् प्रवर्द्धन, हरित साझेदारी, गोर्खा संवाद र सुदृढ डायस्पोरा सञ्जाल रहेका छन्।

उनले दूतावासको कार्यसम्पादनलाई गतिविधिको सङ्ख्यामा नभई व्यावहारिक परिणाम, लगानीमा वृद्धि, र काठमाडौंसँगको प्रभावकारी सञ्चारका आधारमा मूल्याङ्कन गरिने स्पष्ट पारेका छन्।