गौतम गम्भीरलाई भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षक बनाउने पहल

गौतम गम्भीरलाई भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षक बनाउने पहल


काठमाण्डु- भारतका पूर्व ब्याट्सम्यान गौतम गम्भीरलाई भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षक बनाउने पहल शुरु भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले भारतको नयाँ प्रशिक्षकको आवेदन अहिले खुला गरेको बेला बोर्डले गम्भीरप्रति चासो देखाएको क्रिकइन्फोले उल्लेख गरेको छ । हालका प्रशिक्षक राहुल द्रविडको कार्यकाल आगामी टी-२० विश्वकपपछि समाप्त हुने भएकाले बोर्डले २७ मे सम्मको डेडलाइन दिएर नयाँ प्रशिक्षकक आवेदन खोलेको छ ।

गम्भीर हाल आईपीएलमा कोलकाता नाइट राइडर्सका मेन्टर रहेका छन् । उनको मेन्टरसिपमा कोलकोताले उत्कृष्ट प्रदर्शन गरिरहेको बेला उनलाई राष्टिय टिमको प्रशिक्षक बनाउने पहल शुरु भएको विश्लेषण गरिएको छ ।

अब बोर्डले आइपिएल सकिएपछि गम्भीरसँग छलफल गर्ने रिपोर्टमा उल्लेख गरिएको छ । यद्यपि, भारतको मुख्य प्रशिक्षकको पदका लागि आवेदन दिने अन्तिम म्याद आईपीएल फाइनलको एक दिनपछि मे २७ सम्म रहेको छ ।

यस अघि राहुल द्रविडले अर्को कार्यकाल प्रशिक्षक नबन्ने बोर्डलाई जानकारी गराइसकेका छन् । ४२ वर्षीय गम्भीरसँग अन्तर्राष्ट्रिय वा घरेलु स्तरको कोचिङको अनुभव नभएको भए पनि उनले आईपीएलका दुई फ्रेन्चाइजीमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन् । उनी आइपिएल २०२२ र २०२३ मा लखनउ सुपर जायन्ट्सका मेन्टर थिए । दुवै सिजनमा लखनउ प्लेअफमा पुगेको थियो ।

गम्भीर भारतको २००७ मा टी-२० विश्वकप विजेता टिम र २०११ मा एकदिवसीय विश्वकप विजेता टिमको महत्वपूर्ण सदस्य थिए । उनले आफ्नो कप्तानमा कोलकोतालाई दुई पटक आइपिएल समेत जिताएका थिए ।