सेनाका तीन तारे जर्नेलसंग ७७ लाख नगद, ७६ रोपनीभन्दा बढी जग्गा


काठमाडौं– नेपाली सेनाका बलाध्यक्षरथी गौरव तण्डुलले आफ्नो सम्पती विवरण सार्वजनिक गरेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनालाई पारदर्शी बनाउने भन्दै आफ्नो सम्पत्ति विवरण पहिलो पटक सार्वजनिक गरेका थिए। उनले अन्य उच्च सैनिक अधिकृतहरूलाई पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएका थिए । प्रधानसेनापति थापाले सम्पती बिवरण सार्वजनिक गरेसंगै सेनाका अन्य उच्च अधिकारीले पनि आफ्नो सम्पती बिबरण सावैजनिक गर्न लागेका हुन् ।

सेनाका रथी तण्डुलले आफ्नो विभिन्न बैंकमा नगद ७७ लाख ३५ हजार रूपैयां र देशका विभिन्न जिल्लामा ७६ रोपनीभन्दा बढी जग्गा रहेको उल्लेख गरेका छन् । उनले आफूसंग ३५ तोला सुन र ९ केजी चांदी समेत रहेको सम्पती विवरणमा देखाएका छन् ।

तण्डुलले कूल ६७ लाख रूपैयां सैनिक पर्यवेक्षक तथा शान्ति सेना जांदा प्राप्त भएको र अन्य बैंकमा रहेको नगद भने अमेरिकामा एनडिसी गर्दा र तलबबाट बचत गरेको सम्पति विवरणमा उल्लेख गरेका छन् ।

टण्डुलकाअनुसार धनमाल विवाह तथा विभिन्न समयमा श्रीमतीलाई दाइजोको रूपमा आएको र अरु केही खरिद गरिएको हो । त्यसैगरी, चांदी समेत दाइजो तथा उपहारबाट प्राप्त गरेको तण्डुलले बताएका छन् ।

उनको सम्पत्ति विवरणमा ३५ तोला सुनका गरगहना, ९ किलो चांदीको भाडांकुंडा र केही हिरा, मोती, रूवी तथा नीलम रहेको खुलाएका छन्।

सम्पति विवरणअनुसार काठमाडौंको टोखामा २० आना १ पैसा जग्गा र त्यसमा साढे २ तलाको तण्डुलको घर छ। उक्त सम्पती समेत ससुरा भवानीप्रसाद उप्रेतीबाट प्राप्त भएको उल्लेख गरिएको छ । उनले अधिकांश सम्पती ससुराबाट प्राप्त भएको र केही उपहार पाएको सम्पती विवरणमा उल्लेख गरेका छन् ।

भरतपुरमा उनले बुवाबाट प्राप्त गरेको १० धुर जग्गामा एक तलाको घर छ। त्यसैगरी झापाको डांगीबारीमा उनको ५ बिगाहा जग्गा छ। उनका ससुराले उक्त जग्गा बकसबाट प्राप्त गरेको श्रीमती मुनादेवी उप्रेती तण्डुलको नाममा उक्त जग्गा रहेको छ ।

टण्डुलसंग काठमाडौं महानगरपालिका ३१ र कास्कीको पोखरा उपमहानगरपालिका १५ मा समेत जग्गा रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement