काठमाण्डु– जर्मनीमाथि ऐतिहासिक जित निकाल्दै विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेपछि पाराग्वे सरकारले देशभर सार्वजनिक बिदा घोषणा गरेको छ।
पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले मंगलबार (जुन ३०) सार्वजनिक बिदा दिने निर्णय गर्दै उक्त जितलाई राष्ट्रको गौरवसँग जोडिएको ऐतिहासिक उपलब्धि बताएका छन्।
सोमबार भएको खेलमा दक्षिण अमेरिकी टोली पाराग्वेले चार पटकको विश्व च्याम्पियन जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गरेको थियो। निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीमार्फत भएको हो। यो जितलाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो अप्रत्याशित नतिजामध्ये एकका रूपमा हेरिएको छ।
राष्ट्रपति पेनाले सामाजिक सञ्जाल एक्समा सार्वजनिक बिदासम्बन्धी निर्णयमा हस्ताक्षर गरिरहेको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘आज सम्पूर्ण देश उत्सवमा छ। यो जितले हाम्रो पहिचान, दृढता, विश्वास र कहिल्यै हार नमान्ने जनताको साहसलाई प्रतिनिधित्व गरेको छ। पाराग्वेको यो सफलता खेलकुदको उपलब्धिमा मात्र सीमित नरही राष्ट्रिय एकता र गौरवको विषय बनेको छ। सरकार यस्तो महान् उपलब्धिप्रति मौन रहन सक्दैन। यस ऐतिहासिक क्षणको खुसी मनाउन सबै पाराग्वेली नागरिकलाई सहभागी हुन सहज बनाउन सार्वजनिक बिदा घोषणा गरिएको हो।’
विश्वकपमा जर्मनीमाथि अप्रत्याशित जितपछि सार्वजनिक बिदा घोषणा गर्ने पाराग्वे दक्षिण अमेरिकाको दोस्रो राष्ट्र बनेको छ।
यसअघि गत साता इक्वेडरले समूह ‘ई’ अन्तर्गत जर्मनीलाई २–१ ले पराजित गर्दै नकआउट चरणमा स्थान बनाएपछि राष्ट्रपति ड्यानियल नोबोआले पनि देशभर सार्वजनिक बिदा घोषणा गरेका थिए।




प्रतिक्रिया