गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन संसदीय समितिको सरकारलाई सुझाव


काठमाण्डु – गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन संसदीय समितिले सरकारलाई सुझाव दिएको छ । नेकपा एमालेका सचिव समेत रहेका सांसद योगेश भट्टराईको नेतृत्वमा बनेको शिक्षा तथा स्वास्थ्य समितिको संसदीय अनुगमन समितिले प्रतिवेदन बुझाउंदै गेटालाई विश्वविद्यालय बनाउन उपयुक्त हुने सुझाव सरकारलाई दिएको हो ।

सांसद भट्टराई नेतृत्वको टोलीमा सांसदहरु मानबहादुर विश्वकर्मा,चित्रलेखा यादव, नवीना लामा र अन्जना विशंखे सदस्य थिए । टोलीमा डा.दीपकप्रकाश भट्ट र नारदमुनि रानालाई आमन्त्रित सदस्यको रुपमा बोलाइएको थियो । उक्त समितिले स्थलगत अवलोकनका साथै स्थानिय सरकारका जनप्रतिनिधि र प्रदेशका सांसद र सरोकारवालाहरुसंग अन्र्तक्रिया समेत गरेको थियो ।

मेडिकल विश्वविद्यालयका लागि निर्माण गरिएको संघर्ष समितिका संयोजक लोकराज पाण्डे, सांसद दीपक भट्ट र नारदमुनी रानालगायतले गेटालाई चिकित्सा विश्वविद्यालयका रुपमा स्थापना गरी संचालन गर्नुपर्ने राय समितिलाई दिएका थिए । सरकारले आर्थिक वर्ष ०७९ /८० को नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज र डडेल्धुरामा संचालन गरिने मेडिकल कलेज सुदुरपश्चिम विश्वविद्यालयको सम्बन्धनमा संचालनमा ल्याईने उल्लेख गरेको छ ।

प्रतिवेदनमा तत्काल तीनसय शैयाको अस्पताल संचालन गर्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा नेपाल सरकारले निर्देशक नियुक्त गरेको तर स्थानीय सरोकारवाला, जनप्रतिनिधि र बुद्धिजीवीहरु सुदूरपश्चिमा हेल्थ साइन्स विश्वविद्यालय बन्नुपर्छ भन्ने सुझाव रहेको उल्लेख छ ।

समितिको प्रतिवेदनमा अगाडी भनिएको छ ‘निर्माणाधिन भौतिक पूर्वाधारलाई तत्काल पूर्णता दिएर आवश्यक उपकरण र जनशक्तिको व्यवस्था गरी तत्काल अस्पताल सेवा संचालन गर्न, विकासको क्षेत्रीय सन्तुलन तथा स्थानीय जनसमुदायको भावनालाई समेत कदर गर्दै गेटालाई स्वास्थ्य श्क्षिाको बिषयगत विशिस्त्रीकरण हुने गरी चिकित्सा विश्वविद्यालयका रुपमा स्थापना र संचालक गर्न सकिने आधार देखिन्छ । यस सन्दर्भमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयलाई आवश्यक कार्य अघि बढाउन निर्देशन दिन उपयुक्त हुन्छ । ’

कंचनपुरका सांसद भट्टले ९ साउनमा संसदको शिक्षा तथा स्वास्थ्य समितिलाई पत्र लेखेर गेटालाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन अति आवश्यक भएको भन्दै समितिको बैठक बोलाएर छलफल गर्नुपर्ने माग गरेका थिए । सांसद भट्टकै पहलमा यसअघि सुदुरपश्चिबाट प्रतिनिधित्व गर्ने सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर गेटालाई विश्वविद्यालय बनाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement