नयाँ पुस्तालाई महासचिव भुसालको आग्रह : नेतालाई गाली गरेर जिन्दगी बिताउन बन्द गर्नुहोस्


काठमाण्डु – नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेताहरूलाई गाली गर्ने काम बन्द गर्न नयाँ पुस्तालाई आग्रह गरेका छन् ।

अबको नयाँ पुस्ताले नेताहरूलाई गाली गरेर जिन्दगी बिताउने काम गर्न नहुने उनले बताए ।

आज शनिवार काठमाण्डुमा आयोजित ‘नेपाली समाजको मुख्य अन्तर्विरोध’ विषयक विचार गोष्ठीमा बोल्दै उनले मुलुकको राजनीति नेताहरूले बिगारेको भए पनि नयाँ पुस्ताले गाली गरेर आफ्नो औचित्य पुष्टि गर्न नसक्ने बताए ।

महासचिव भुसालले मार्क्सवादको झण्डा नेताहरूले पपुलिस्टहरूलाई लगेर बुझाएकाले समाजवाद निर्माणका लागि फेरि मार्क्सवादी पद्धतिमै फर्किनुको विकल्प नभएको बताए ।

‘अहिले राजनीतिको जुन हावा चलेको छ, हावा चल्नुको केही खास कारण छन् । किनभने राजनीति हामीले नै बिगार्‍यौं, माथि गएकाले बिगार्‍यौं । यो क्रान्तिको झण्डा पपुलिस्टहरूलाई लगेर बुझाएको हामीहरूले नै हो, हाम्रा नेताहरूले नै हो । अब इतिहासमा यी नेताहरूलाई गाली गरेर कुनै जेनेरेसनले आफ्नो पिँढीको औचित्य पुष्टि गर्न सक्दैन । अब नेतालाई गाली गर्ने समय पनि सकियो होला । यो गाली मात्रै गर्दा खेरी त हाम्रो जिन्दगी गाली गरेर मात्रै जाने भयो । त्यसो हुनाले यो च्याप्टर क्लोज गरिदिऊँ,’ उनले भने ।

महासचिव भुसालले मुलुकमा सामन्तवाद नभएको तर पनि कम्युनिस्ट नेताहरूले त्यसैमाथि प्रहार गर्ने गरेको भन्दै त्यस्तो विडम्बनापूर्ण अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement