टुँडिखेलमा यसरी मनाइयो घोडेजात्रा (फोटो फिचर)


काठमाण्डु – काठमाण्डु उपत्यकामा घोडे जात्रा पर्व मनाइएको छ। चैत्र कृष्ण औंसीका दिन मनाइने जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष समारोहसमेत आयोजना गरेको थियो।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो। पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे। राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो।

यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो। साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ। यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ।

त्यसक्रममा नेपाली सेनाका घोडचढीहरूले विभिन्न कला प्रदर्शन गरेका थिए। घोडेजात्राको अवसरमा टुँडिखेलमा नेपाली सेनाले अश्वकला, युद्धकला, शारीरिक व्यायामलगायत प्रदर्शन गरेकाे छ।

उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो।

 

प्रतिक्रिया दिनुहोस
Advertisement