नेपाल भ्रमण सकेर फर्किए महासचिव गुटेरेस (तस्बिरहरू)


काठमाण्डु – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमण पूरा गरी फर्किएका छन् ।गुटेरेस बुधबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायततर्फ प्रस्थान गरेका हुन् ।

उनलाई बिदाइ गर्न रक्षामन्त्री पूर्णबहादुर खड्का विमानस्थलमा पुगेका थिए । उनको बिदाइमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

नेपाल भ्रमणका क्रममा महासचिव गुटरेसले उच्चस्तरीय भेटवार्ता गर्नुका साथै नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गरेका थिए । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, सभामुख देवराज घिमिरे, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

उनले काठमाडौँस्थित संयुक्त राष्ट्रसंघको कार्यालयको अवलोकन गर्नुका साथै पाटन दरबार क्षेत्र पनि पुगेका थिए ।

भ्रमणका क्रममा महासचिव गुटेरेस सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रका साथै पोखरा र लुम्बिनीसमेत गएका थिए । उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गरेका थिए । प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरेका थिए ।गुटेरेसले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन समेत गरेका थिए ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि नेपालको भ्रमणमा आएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया,जलवायु परिवर्तन, गरिबी निवारणलगायत विषयमा छलफल गरेका थिए । राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा भएको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement