मन्त्री चौधरीसँग कोरियाली राजदूतको भेट

मन्त्री चौधरीसँग कोरियाली राजदूतको भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ते–योङ्ग तथा कोरिया प्रोग्राम अन इन्टरनेसनल एग्रिकल्चर (कोइका) को प्रतिनिधिमण्डलले मन्त्रालयमा शिष्टाचार भेटघाट तथा द्विपक्षीय सहकार्यसम्बन्धी छलफल गरेका छन् ।

सोमबार भएको भेटमा नेपाल काठमाण्डु–कोरियाबिच कृषि, पशुपन्छी, वन तथा वातावरण क्षेत्रको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।

सो अवसरमा मन्त्री चौधरीले नेपाल सरकारका तर्फबाट कोरिया सरकारले नेपाललाई उपलब्ध गराएको उन्नत पशु नस्लप्रति आभार व्यक्त गरे । उनले वर्तमान सरकारले दुग्ध क्षेत्र विकास तथा दुग्ध विकास संस्थान सुदृढीकरणलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै कोरियाको आधुनिक दुग्ध प्रविधि नेपालमा विस्तार गर्न चाहेको बताए ।

मन्त्री चौधरीले नेपाल सरकारले डिजिटलाइजेसन, नवप्रवर्तन, जलवायु–स्मार्ट कृषि तथा युवा स्टार्टअप कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै यी क्षेत्रमा कोरियाबाट थप लगानी, प्रविधि तथा प्राविधिक सहयोग अपेक्षा गरिएको बताए । जैविक मल उत्पादन प्रविधि, पढ्ने तथा कमाउने कार्यक्रम विस्तार तथा संयुक्त कृषि कार्यसमिति बैठक आयोजना गर्नुपर्ने आवश्यकता औँल्याए ।

राजदूत पार्कले नेपाल र कोरियाबिच विगतदेखि कृषि तथा वातावरण क्षेत्रमा विभिन्न कार्यक्रम सफलतापूर्वक सञ्चालन हुँदै आएको उल्लेख गर्दै कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको बताए । उनले कोरियाको सहयोगमा नेपालमा वितरण गरिएका १०८ उन्नत जातका हिफरबाट उत्साहजनक परिणाम प्राप्त भएको, महिला कृषकले व्यावसायिक उत्पादन सुरु गरिसकेको तथा तेस्रो पुस्तासम्म बाच्छाबाच्छी उत्पादन भइसकेको जानकारी दिए ।

राजदूत पार्कले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) सँगको सहकार्यमा गतवर्ष स्थापना गरिएको ‘कोपिआ सेन्टर’ले प्रारम्भिक चरणमा तरकारी तथा आलु अनुसन्धानमा काम गरिरहेको जानकारी दिए । कोरियामा कार्यरत नेपाली श्रमिकहरूको योगदानको प्रशंसा गर्दै उनले कृषि क्षेत्रमा कार्यरत धेरै नेपाली युवाले सिकेको सीप र प्रविधि नेपाल फर्किएपछि उद्यमशीलतामा प्रयोग गरिरहेको उल्लेख गरे ।

राजदूत पार्कले वातावरण तथा ऊर्जा क्षेत्रको सहकार्यबारे चर्चा गर्दै रसुवामा निर्माणाधीन त्रिसूली जलविद्युत् आयोजना महत्वपूर्ण सहकार्य क्षेत्र रहेको बताए । वातावरणसम्बन्धी सहकार्यलाई थप विस्तार गर्न आगामी दिनमा संयुक्त सेमिनार आयोजना गर्ने उनले इच्छा व्यक्त गरेका छन् ।

भेटवार्तामा नेपाल–कोरियाबिचको दीर्घकालीन बहुपक्षीय तथा द्विपक्षीय सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने विषयमा दुवै पक्ष सहमत भएका छन् ।