काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाण्डुको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षरोपण गरेको छ ।
बैंकले टोखा नगरपालिकाका विभिन्न विद्यालयहरूमा १ हजार वटा फलफूलका विरुवाहरू रोपण गरेको छ । वृक्षरोपण कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका प्रध्यानापक, विद्यालयका प्रतिनिधिहरू र विद्यार्थीसहित स्थानीयको उपस्थिति रहेको थियो ।
बैंकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडाहरूमा १ हजार ५०० वटा बाँसका विरुवाहरू रोपण गरेको छ । बैंकले सञ्चालन गरेको वृक्षरोपण कार्यक्रममा खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख, नेपाली आर्मी र नेपाल प्रहरीका जिल्ला नेतृत्व तथा प्रतिनिधिहरू र स्थानीयको ठूलो उपस्थिति थियो ।
बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा यस आर्थिक वर्षमा मुलुकभर १८ हजार विरुवा रोपण गर्ने लक्ष्यका साथ विभिन्न स्थानमा वृक्षरोपण गरिरहेको छ ।
बैंकले विश्व वातावरण दिवसको अवसर पारेर ७ वटै प्रदेशहरूको विभिन्न स्थानहरूमा वृक्षरोपण गरिरहेको छ । वृक्षरोपणले जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयहरूको आयआर्जनमा सहयोग हुने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका २ विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूबाट फरक–फरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटीएम, २०२ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
प्रतिक्रिया