यात्रुले दुःख पाएपछि गोकुल बाँस्कोटाको प्रश्नः गृहमन्त्रालयले के जात्रा देखाको ?


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल प्रसाद बाँस्कोटाले सार्वजनिक यातायातमा यात्रुले दुःख पाएपछि गृह मन्त्रालयमाथि नै प्रश्न उठाएका छन् ।

आइतबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले जिल्लागत यात्राको क्रममा बालबालिका र वृद्धवृद्धालाई दुःख दिएको भन्दै गृहमन्त्रालयको आलोचना गरेका छन् ।

बाँस्कोटाले हाल एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्दा सीमा क्षेत्रमा गाडी फेर्नुपर्ने नियमले यात्रुहरुले सास्ती पाएको बताएका छन् ।

उनले यात्रुलाई चेकजाँच नै नगरी बसबाट मात्र ओराल्ने काम गरेर गृह मन्त्रालयले जात्रा देखाएको बताएका छन् । त्यस्तै उनले यात्रुलाई दुःख दिने नियतको यस्तो व्यवस्था हटाउन पनि गृहमन्त्रालयको ध्यानआकर्षण गराएका छन् ।

‘गृहमन्त्रालयले के जात्रा देखाको ? बच्चा,केटाकेटी,बुढाबुढी एउटा बसबाट झार्ने एक किलोमिटर हिडाउने फेरि अर्को बस चढाउने ? न चेकजाँच न अरु ? बेकारको सास्ती के उदेश्यले यात्रुलाई दुःख दिएको ? तत्काल हटाऊ’, उनले भनेका छन् ।

सरकारले करिब चार महिनापछि लकडाउन अन्त्य गरेसँगै सार्वजनिक यातायात अहिले जिल्लागत रुपमा सञ्चालन भइरहेका छन् । सरकारले भदौ १ गतेबाट लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement