लुम्बिनी – रुपन्देही प्रहरीले राजस्व छली गरी ल्याएको साढे २९ तोला बढी सुनसहित २ जना नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सोमबार राति अन्दाजी १० बजेको समयमा पश्चिमबाट पूर्व जाँदै गरेको लु२ख ६५४२ नम्बरको बसमा खानतलासी गर्दा साढे ४९ लाख रुपैयाँ मूल्य बराबरको सुन बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी खनालले राजस्व छली गरी अवैधरूपमा सुन ल्याएको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले खानतलासी गर्दा बसका सहचालक कपिलवस्तुको वाणगङ्गा नगरपालिका–८ बस्ने वर्ष ३३ को अकबर अलि मिया सुनसहित पक्राउ परेका जानकारी दिए ।
बुटवल उपमहानगरपालिका–८ रामनगरस्थित पूर्वपश्चिम राजमार्गमा बस रोकेर खानतलासी गर्दा मियाले दायाँ खुट्टाको जुत्ताभित्र खैरो रातो बुट्टे लेडिज ब्यागमा लुकाएको अवस्थामा बिस्कुट आकारको २ थान सुन बरामद भएको खनालले जानकारी दिए ।
सुनको बजार मूल्य ४९ लाख ५४ हजार ८१७ रहेको रहेको प्रहरीले जनाएको छ । प्रहरीले मियासहित अर्घाखाँची सुनचाँदी पसलका सञ्चालक सन्तोष सुनार समेतलाई पक्राउ गरी थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको प्रहरी नायब उपरीक्षक खनालले बताए ।
प्रतिक्रिया