काठमाण्डु– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने अर्धठोस पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
भारतको दिल्लीस्थित हावेलियाजाम खान जामा मस्जिद स्थायी ठेगाना भएका अस्लाम सोकातलाई विमानस्थल सुरक्षा प्रहरीले पक्राउ गरेको हो। उनी भारतको मुम्बईबाट इन्डिगो एयरको उडान नम्बर 6E1157 मार्फत काठमाण्डु आएका थिए।
सुरक्षा जाँचका क्रममा उनले लगाएको भित्री वस्त्रमा प्लास्टिकले बेरेर लुकाइछिपाइ ल्याएको ४२२.४ ग्राम तौलको सुनजस्तो देखिने अर्धठोस पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सोकातलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।
प्रहरीका अनुसार पछिल्लो समय सेमी सोलिड (अर्धठोस) स्वरूपमा सुन तस्करी गर्ने प्रयास देखिन थालेको भन्दै विमानस्थलमा त्यस्ता गतिविधिमाथि निगरानी र सुरक्षा जाँचलाई थप कडाइ गरिएको छ।




प्रतिक्रिया