सुन भनेर फलाम बेच्ने चारजना सुन्धाराबाट पक्राउ


काठमाडौँ – काठमाडौंमा सुन भनेर फलाम बेच्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वरका ३३ वर्षीय पूर्णबहादुर तामाङ, काभ्रेको चौरी देउराली गाउँपालिकाका २६ वर्षीय चन्द्रबहादुर श्रेष्ठ, २१ वर्षीय प्रविन श्रेष्ठ र १९ वर्षका सुवास श्रेष्ठ रहेका छन्।

उनीहरूले सुरुमा फलामको टुक्राको एक भागमा थोरै सुनको जलप लगाएको र सोही ठाउँबाट सुन हो होइन भनेर जाँच गर्न दिने र सुन भएको भ्रममा पारेर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।  ठगी गरेको १९ लाख रुपैयाँ उनीहरूले बाँडफाँट गरेका थिए। जसमध्ये पूर्णबहादुरले ९ लाख ५० हजार, चन्द्रबहादुरले ३ लाख ५० हजार, प्रवीनले ३ लाख र सुवासले ३ लाख रुपैयाँ बाँडफाँट गरेका थिए।

उनीहरूलाई सोमबार सुन्धाराबाट पक्राउ गरिएका महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले बताए। उनीहरुका साथबाट ७० हजार रुपैयाँ नगद र ठगी गर्न प्रयोग गर्ने बा २ ज १८४१ नम्बरको ट्याक्सी समेत बरामद गरेको छ।

उनीहरुले काठमाडौँका राजेश विकलाई आधा किलो सुन सस्तोमा दिने भन्दै १९ लाख नगद बुझेका थिए । सुनको गहना राख्ने रातो प्याकेट घर गई खोल्दा फलाम देखेपछि विकले ठगिएको भन्दै उजुरी गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement