काठमाण्डु – भोटेकोशी बाढीबाट प्रभावितका लागि गोल्याण फाउण्डेसनले खानादेखि मनोपरामर्श सेवा सञ्चालन गरेको छ ।
गोल्याण ग्रूप अन्तर्गतको समाजसेवी संस्था गोल्याण फाउन्डेसन बाढीको भोलिपल्ट भदौ ११ गतेदेखि नै प्रभावित क्षेत्रमा खटिएको छ । फाउन्डेसनले बाढी प्रभावित क्षेत्रमध्ये नुवाकोटको विदुर नगरपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालय होल्डिङ सेन्टरमा भोजन, स्वास्थ्य उपचार, मनोपरामर्श लगायत सेवा दिइरहेको छ ।
होल्डिङ सेन्टरमा देवीघाट क्षेत्रका ६८ घरपरिवार रहेका छन् । ती परिवारका सदस्यसहित आसपासका समेत गरी दैनिक करिब ४०० जनालाई होल्डिङ सेन्टरमा खाना–खाजा (दैनिक ३ पटक) प्रबन्ध गरिएको छ । भोजनका अतिरिक्त सामान्य स्वास्थ्य सेवा र बालमनोपरामर्श सेवा प्रदान गरिएको छ ।
ग्रूपले गोल्याण फाउण्डेसनमार्फत ५० जना स्वयंसेवी तथा कर्मचारी र मनोपरामर्शकर्ता परिचालन गरेको छ ।
गोल्याण ग्रूपका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेशन्स प्रमुख तथा फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत ज्योति गैह्रेको नेतृत्वमा स्वयंसेवी समूह खटिएको छ । होल्डिङ सेन्टरमा करिब ४० जना बालबालिका समेत रहेका छन् । उनीहरूका लागि खेल सामग्रीका साथै बालमनोपरामर्शको काम पनि भइरहेको सीईओ गैह्रेले बताइन् ।

‘कत्ति पनि ढिलो नगरीकन गोल्याण फाउण्डेसनको स्वयंसेवी समूह बाढीको भोलिपल्टै प्रभावित क्षेत्रमा पुगेर तत्काल खानपिनको व्यवस्था गर्यो,’ उनले भनिन् ।
गोल्याण ग्रूपका अध्यक्ष तथा प्रवन्ध निर्देशक अक्षय गोल्याणले विपत्तिको बेला प्रभावित नागरिकलाई साथ र सहयोग दिनुपर्छ भन्ने मान्यताका साथ बाढी गएको दिनमै राहत तथा सहयोग योजना बनाइएको बताए । ‘यस्तो बेला प्रभावित क्षेत्रमै पुगेर सहयोग गर्नुपर्छ भन्ने हिसाबले हामीले नुवाकोटको विदुरमा गएर तात्कालिक राहत तथा सहयोग कार्य गर्यौं,’ उनले भने, ‘अवस्था सामान्य नभएसम्म हाम्रो सहयोग जारी रहन्छ । नेपाल सरकार र सरकारी निकायसँग समन्वय गरेर राहत तथा सहयोग कार्य अझ प्रभावकारी बनाइनेछ ।’

गोल्याण ग्रूपले प्रभावित क्षेत्रमा पुगेर तात्कालिक राहतका साथै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । गोल्याण ग्रूप अन्तर्गतको रिलायन्स स्पिनिङ मिल्सले सोमबार बाढी प्रभावितको सहयोगार्थ नेपाल सरकारलाई १ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक अक्षय गोल्याण र निर्देशक सशिकान्त अग्रवालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका छन् ।
रिलायन्स स्पिनिङ मिल्स नेपालको प्रमुख धागो उत्पादक कम्पनी हो । कम्पनीले सुनसरीको दुहबी र खनारस्थित उद्योगबाट धागो उत्पादन गर्दै आएको छ । प्राकृतिक विपत्तिको बेला नागरिक र सरकारलाई सहयोग गर्ने सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरिएको कम्पनीले जनाएको छ ।





प्रतिक्रिया