गोपाल पराजुलिले राष्ट्रपति समक्ष दिए राजिनामा


काठमाडौं-  बर्खास्त भएका प्रधानन्यायाधिश गोपाल पराजुलीले राजीनामा दिएका छन् । बिहिबार बिहान शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर उनले राजीनामा बुझाएका हुन् ।

न्यायपरिषदका सचिवलाई पदमुक्त गर्ने अधिकार नभएको र त्यो कदम असंवैधानिक भएको भन्दै पराजुलीले बिहीबार पनि नियमितजस्तै सर्वोच्च अदालत जाने र पेशी तोक्ने बताएका थिए । तर, उनी बिहीबार बिहान ११ः३० बजेसम्म पनि सर्वोच्च परिसरमा पुगेका छैनन् भने पेशी तोक्ने लगायतका काम कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशीले गरिसकेका छन् । पराजुलीको ईजलास बहिस्कार गर्ने ८ न्यायाधिशहरुपनि काममा फर्किएका छन् ।

बिहीबार बिहान न्यायपरिषदको बैठक बसेर सचिवको निर्णय उल्ट्याउने प्रयास गरेका पराजुलीले परिषद्मै आफू अल्पमतमा परेपछि हार खाएका हुन् । प्रधानन्यायाधीशले अध्यक्षता गर्ने न्यायपरिषदमा कानुनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश, पदमप्रसाद वैदिक, ओमप्रकाश मिश्र र रामप्रसाद सिटौला सदस्य छन् ।

कानुनमन्त्रीको कार्यभार अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हालिरहेका छन् । बाँकी सदस्यमध्ये सिटौलाबाहेक कसैले पनि पराजुलीलाई साथ नदिएपछि उनले परिषद्को बैठक बसाउनै नसकेको स्रोतको भनाई छ ।

‘पराजुली सर्वोच्च आउनै छाडिसक्नुभयो । उहाँका सुरक्षा, झण्डावाला गाडी सबै कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीकोमा पुगिसके, वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले भने’ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement