काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कहाँ छन् भनेर खोजेको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा सांसद गोपाल शर्माले मुलुक विषम परिस्थितिमा रहेका बेला प्रधानमन्त्रीको उपस्थिति नदेखिएको बताइन् ।
उनले सुनसरीमा भएको हिंसात्मक घटनाको सन्दर्भमा प्रधानमन्त्री नदेखिएको उल्लेख गरे । ‘सुनसरीको कप्तानगन्जमा भएको घटनाले सिंगो देशलाई तरंगित र स्तब्ध बनाएको छ ।
यस्तो संवेदनशील बेला त हाम्रा प्रधानमन्त्रीले संसदमा आएर देशभरीलाई त्यहाँको विषयवस्तु, त्यहाँको घटना र त्यहाँको समग्र अवस्थाबारे जानकारी दिनुपर्थ्यो’, उनले भने, ‘तर, विडम्बना हाम्रो प्रधानमन्त्री कहाँ हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ? न संसदलाई जानकारी छ न कसैलाई जानकारी छ ।’
उनले गृहमन्त्री सुधन गुरूङले गृहमन्त्री पद कसलाई चाहिएको छ, उसैलाई दिन्छु भनेको विषयमा आपत्ति जनाए ।
‘गृहमन्त्रीज्यू भन्दै हुनुहुन्छ । यो गृहमन्त्री पद कसलाई चाहिएको छ लैजाओ । उहाँ यस्तो कुरा सार्वजनिक रूपले भन्न र यति अराजक अभिव्यक्ति दिन भ्याउनुहुन्छ, तर सुनसरी जान भ्याउनुहुन्न । यो घटनापछि राज्य कहाँ छ ? सरकार अभिभावक बन्नुपर्छ कि पर्दैन ?’, उनले भने ।
शर्माले देवानगन्ज घटनामा स्थानीय युवा ओमप्रकाश मेहताको ज्यान गएको विषयमा सरकारले जिम्मा लिनुपर्ने कि त्यहाँको स्थानीय तहलाई जिम्मेवारी दिएर सरकार पन्छिने हो भन्दै ब्यंग्य गरे ।
विगतमा यस्तै घटना हुँदा राज्यले जिम्मेवारी लिनुपर्छ भन्ने प्रधानमन्त्री र गृहमन्त्रीले सुनसरी घटनाको जिम्मेवारी लिने कि नलिने भन्ने प्रश्न गरे ।




प्रतिक्रिया