३३ किलो सुन गायब पार्न कुख्यात तस्कर गोरेसँग प्रहरी अधिकारीको मिलेमतो


काठमाण्डौ – प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘गोरे’ उपनामका चुडामणि उप्रेतीको प्रहरीका उच्च अधिकारीसँग निकट सम्बन्ध रहेको पाइएको छ । गायब पारिएको भनिएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा छानबिन गर्न बनेको समितिले यो तथ्य फेला पारेको हो ।

मोरङ उर्लाबारीका गोरेले सुन तस्करीको जालो फैलाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका सुरक्षा अधिकारीसँग राम्रै उठबस गरेर सम्भव बनाएको अनुसन्धान अधिकारीहरू बताउँछन् । गोरेले नेपाल बस्दा र भारतमा बस्दा प्रयोग गर्ने मोबाइल नम्बरको ‘कल ट्रेस’ गरेर अभिलेख हेर्दा छानबिन समितिका अधिकारीहरू चकित परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोली गोरे पक्राउ गर्न धरान पुग्दा पूर्वडीआईजी गोविन्द निरौला र गोरेबीच फोनमा सम्पर्क भएको तथ्य फेला परेको छ । शाक्यको हत्यापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका तत्कालीन एसपी विकास खनालसँग समेत गोरेको सम्पर्क देखिएको छ ।

अझ रोचक कुरा त गोरेको काठमाडौंस्थित डेराबाट फेला परेको डायरीमा एसएसपी श्याम खत्री, एसपी खनाल र पूर्वडीआइजी निरौलालाई पैसा दिएको हिसाब फेला परेको छ । खनाल र खत्रीलाई डेढ करोड रुपैयाँ बढी दिएको फेहरिस्त गोरेले डायरीमा उतारेको छानबिन समितिले फेला पारेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३३ किलो सुन विमानस्थलबाहिर पठाउने बेलासमेत डीआईजी निरौला गोरेसँग सम्पर्कमा देखिएको तथ्य छानबिन समितिले फेला पारेको छ । तत्कालीन समयमा एसएसपी खत्रीले समेत गोरेको तस्करी जालोलाई सघाएको तथ्य फेलापारेपछि उनी फरार छन् ।

महाशाखा टोलीले इटहरीबाट नियन्त्रणमा लिएका कृष्ण भनिने नरेन्द्र कार्की र मोहन काफ्लेले दिएको बयान झनै रोचक छ । कार्की र काफ्लेले इलाका प्रहरी कार्यालय इटहरीका तत्कालीन डीएसपी सञ्जय राउत र गोरेबीच सम्बन्ध धेरै राम्रो रहेको र बेलाबेलामा भेट हुने गरेको बयान दिएका छन् ।

उनीहरूकै बयान र कल डिटेलमा समेत गोरे र राउतबीच कनेक्सन भेटिएपछि छानबिन टोली राउतलाई नियन्त्रणमा लिने निष्कर्षमा पुगेका थिए । प्रहरी अधिकारीलाई पैसा बाँडेर सुन तस्करी गर्दै आएका गोरेले महाशाखा टोलीलाई दुई करोडको अफर गरेका थिए । उक्त अफर गरेको विषयमा तत्कालीन निमित्त प्रहरी महानिरीक्षक बमबहादुर भण्डारीसमेत जानकार थिए । गोरेले कुनै हतकण्डा अपनाएमा गोली हान्नेसम्मको आदेशअनुसार महाशाखा टोली धरान पुगे पनि संगठनकै उच्च अधिकारीको सूचनामा गारे भागेपछि घटनाले अर्को मोड लिएको हो ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी, सईद्वय गजेन्द्र रावल र बालकृष्ण सञ्जेलसँग बयान लिइसकेको छ । रावलको कुनै भूमिका नदेखिएपछि बिहीबारै समितिले नियमित काममा खट्न निर्देशन दिइसकेको छ । महाशाखाका अधिकारीले नाटकीय ढंगबाट गोरेसँग गरेको बार्गे्िनङका कल रेकर्ड समितिले सुनिसकेको छ ।

प्रहरीले गोरेकै सूचनामा समेत सुन बरामद गरेको घटना अझ रोचक छ। तत्कालीन अपराध महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यको कार्यकालमा गारेले महाशाखामै पुगेर सुन तस्करीको सूचना दिएका थिए । उनकै सूचनाका आधारमा महाशाखाले झण्डै दुई किलो सून बरामद गरेको थियो ।

समितिका सदस्य एसएसपी वसन्त लामाले प्रमाण पुगेकै आधारमा प्रहरी कर्मचारी नियन्त्रणमा लिएर छानबिन थालिएको बताए। उनले भने, ‘धेरै कुरा खुलेका छन, हामी सार्वजनिक गर्छौं ।’

 

प्रतिक्रिया दिनुहोस
Advertisement