गोरखा – गोरखा दरबारस्थित दशैंघरमा परम्पराअनुसार बिहीबार विधिपूर्वक फूलपाती भित्र्याइएको छ ।
साँझको शुभ साइतमा हर्षबढाइँका साथ गोरखा दरबारमा फूलपाती भित्र्याइएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए ।
बिहीबार गोरखा दरबारबाट निस्किएको लावा लस्कर सहितको टोलीले तल्लोकोटस्थित फूलपाती चौतारबाट लगिएको फूलपाती दरबारको दशैंघरमा भित्र्याइएको उनले बताए । गोरखा दरबारका सुसारेले जंगलबाट जम्मा गरेको फूलपाती लिन दशैंघरदेखि दरबारका सुसारे, नेपाली सेना, नेपाल प्रहरी, सरकारी कर्मचारी, स्थानीयवासी लगायत टोली लावा लस्करसहित तल्लोकोट सतिपिपल डाँडामा पुगेका थिए ।
‘गएराति जंगलबाट ल्याएको दारिक, बेलको पात, उखुको बोट, केराको पात, अदुवाको बोट र मौसमी फलफूललाई फूलपातीको रूपमा परम्पराअनुसार दशैंघरमा भित्र्याइएको हो,’ मूलपुजारी भट्टराईले भने ।
फूलपाती भित्र्याउनुपूर्व गोरखा दरबारदेखि मङ्गलिनीहरूले मङ्गल गीत र मालश्री राग गाउँदै बन्दुकेहरूले हर्षबढाइँ गर्दै र भारवाहकहरू फूलपाती पर्सने सिडीसम्म पुगेका थिए । गोरखा दरबारको सिडीमा विशेष पूजा गरेर दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको मूलपुजारी भट्टराईले बताए ।
गोरखा दरबारमा हरेक वर्ष रवानबाट पश्चिम क्षेत्रका डाँडामा आधा घाम तल र आधा घाममाथि देखिने समयमा दरबारको दशैंघरमा फूलपाती भित्र्याउने गरिन्छ ।
यसअघि बिहीबार बिहान गोरखा दरबारको दशैंघरबाट काठमाण्डुको हनुमान ढोका दरबारमा फूलपाती पठाइएको थियो ।
प्रतिक्रिया