गोरखा दरबारबाट हनुमानढोका दरबारका लागि फूलपाती पठाइयो


गोरखा- गोरखा दरबारको दशैँघरबाट काठमाण्डुको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ। शुक्रबार बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली गोरखा दरबारको दशैँ घरबाट हनुमानढोका दरबार पठाएकाे हाे ।

फूलपातीको डोली बा २ झ ३२२१ नम्बरको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले बताए ।

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि आज साँझ हर्ष बढाइँका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ ।

कार्यालयका नायब सुब्बा चूडानिधि तिवारीले हुनमान ढोका दरबारमा फुलपाती लिएर गएका कार्यालय प्रमुख भुसालले जानकारी दिए । “गत वर्ष भक्तजनहरूको ठूलो भिडभाड लाग्ने गथ्र्योे”, उनले भने, “यो पटक त्यो हुन सकेन, सामान्यरूपमा विधि पुर्याएर फुलपाती पठाएका छौँ ।”

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाण्डुको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि बर्सेनि बडादशैँको सातौँ दिन गोरखा दरबारको दशैँघरबाट फूलपातीसहितको डोली काठमाण्डुको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको छ ।

गोरखा दरबारको दशैँघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरुले बोकेर ल्याई त्यहाँबाट हनुमान ढोका दरबार पठाइएको हो ।

कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण भक्तजनहरुको सहभागिता बिना नै यो पटक विधिपूर्वक दरबारस्थित दशैँघरबाट सतिपिपल चौतारासम्म ल्याएर गोरखाबाट फूलपातीको बिदाई गरिएको उनले बताए । गोरखा दरबारको दशैँघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement