गोरखा भूकम्पको चार वर्ष : निरन्तर भूकम्पको धक्का, अझै भूकम्पीय जोखिम, सतर्क रहन सुझाव


काठमाडौं – नेपालमा गोरखा भूकम्पको चार वर्ष बित्दा पनि परकम्प जाने क्रम रोकिएको छैन । भूकम्पीय जोखिमका हिसाबले नेपाल अझै जोखिममा रहेको विज्ञहरूले बताएका छन् । गोरखाको बारपाक केन्द्र भई ७ दशमलव ६ रेकटर स्केलको भूकम्प गएको आज(बिहीबार) चार वर्ष बितेको छ । गोरखा भूकम्पपछि नेपालको भौगर्भिक अध्ययन अनुसन्धान गरेका विज्ञहरूले अझै ठूलो भूकम्पको जोखिम रहेको औंल्याएका छन् । गोरखाभन्दा पूर्वक्षेत्रमा ठूलो असर पर्नेगरी भूकम्प गए पनि पश्चिम नेपालमा भने कुनै असर पु¥याएको थिएन । भूकम्पीय जोखिम कायमै रहेकाले सचेत हुनपर्नेमा विज्ञहरूले सुझाएका छन् ।

फ्रान्सको पेरिसस्थित पीएसएल रिसर्च युनिभर्सिटीका प्राध्यापक शिव सुवेदीको नेतृत्वमा भएको वैज्ञानिकहरूको टोलीले लामो समय लगाएर गरेको भौगर्भिक अध्ययनले नेपालको पश्चिम क्षेत्रमा अझै ८ रेक्टर स्केलभन्दा ठूलो भूकम्प जान सक्ने निष्कर्ष निकालेका छन् । १२ वैशाख २०७२ को भूकम्पको समयमा सरकारको खानी तथा भूगर्भ विभागको महानिर्देशकसमेत रहेको विज्ञ लोकविजय अधिकारी र सुर्खेतस्थित क्षेत्रीय भौगर्भिक अध्ययन केन्द्रका रत्नमणि गुप्ता सम्मिलित वैज्ञानिकको टोलीले अझै भूकम्पीय जोखिम अन्त्य नभएको निष्कर्ष निकालेका हुन् ।

नेपाली विज्ञहरूसँगै पीएसएल रिसर्च युनिभर्सिटीका हेलेन लियोन केन, आर्यजोन फ्रान्सका विशेषज्ञ लाउरेन्ट वोलिंगर, पेरिसकै इन्स्टिच्युट अफ फिजिकसदी ग्लोब फ्रान्सका भेरोन्क्वी फररा, इन्स्टिच्युट अफ अर्थ साइन्स, युनिभर्सिटी अफ लाउसान्ने स्विजरल्यान्डका ग्योर्गी हेनेन्वी र युनिभर्सिटी अफ स्ट्रस्वर्ग फ्रान्सका जेरोमी भेग्र्ने सम्मिलित विज्ञहरूले लामो समय नेपालको पश्चिम क्षेत्रको भौगर्भिक अध्ययन गरेका थिए । आफूहरूले गरेको अध्ययनले नेपालको पश्चिम क्षेत्रमा अझै ठूलो भूकम्प जान सक्ने संकेत पाएको अध्ययन टोली सदस्य लोकविजय अधिकारीले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement