काठमाण्डु – सप्तकोशी नदीमा बेपत्ता गोताखोरको शुक्रबार बिहानैबाट खोजी कार्य जारी छ।
सप्तरी, हनुमान नगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा मनसुनजन्य विपद्को पूर्व तयारी स्वरुप प्रदेश स्तरीय विपद् सेमुलेशन अभ्यासको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण सप्तरी, दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी र नम्बर ७ गण सिरहाबाट गोताखोरसहित संयुक्त टोलीद्वारा बिहीबार अभ्यास सुरु भएको थियो।
सो क्रममा नं. १ श्रीअन्तु गण ईलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हरदेव राजबंशी र नम्बर १३ गण पर्सा दरबन्दी भई नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सप्रज सुरज साउद कोशी नदीमा बेपत्ता भएका छन्। उनीहरूको खोजी कार्यलाई तीव्रता दिइएको छ।
शुक्रबार बिहान दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डिएसपिको कमान्डमा ४ जना गोताखोरसहित ३५ जना र नं. ६ गण सप्तरीबाट विपद् व्यवस्थापन तालिमप्राप्तसहित डिएसपीको कमान्डमा २० जना सुरक्षा फौज परिचालन गरिएको सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।
थप खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरका अनुभवी प्रशिक्षक डिएसपी पुरुषोत्तम भन्डारीको कमान्डमा ५ जना गोताखोरलाई बिहीबार राति नै त्यस तर्फ पठाइएको छ।
२०६९ सालमा बंगलादेशबाट गोताखोर तालिम लिएका भन्डारी त्यस यता नेपालमा संचालित गोताखोर तालिमका प्रशिक्षक हुन्। उनले घटनास्थल, पानीको बहाव र अन्य कुरा फिल्डमा नै नहेरी भन्न नसकिने बताएका छन्। यो तालिम नभइ मनसुनजन्य विपद् उद्धारको पूर्व तयारी स्वरुप गरिएको सिमुलेसन अभ्यास हो। यस प्रकारका अभ्यास अहिले देशभरि नै भइरहेका छ्न्।
बेपत्ता भएका उनीहरू दुवै जनाले २०८० र ८१ सालमा गोताखोर तालिम पूरा गरेका हुन्, त्यसपछि उद्धारका लागि विभिन्न ठाउँमा खटिएका थिए ।
प्रतिक्रिया