कुटनीतिक पत्राचार गर्दा परराष्ट्र मन्त्रालयमार्फत अनिवार्य गर्न सरकारको निर्देशन


काठमाण्डु – सरकारले वैदेशिक एवं कुटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा परराष्ट्र मन्त्रालय मार्फतमात्रै गर्न निर्देशन दिएको छ ।

असार ६ गते बसेको मन्त्रिपरिषदको बैठकले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य रुपमा गर्नुपर्ने निर्णय गरको थियो । योसँगै मन्त्रालयहरुले मातहतका निकायलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदको निर्णय अनुसार वैदेशिक एवम् कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयमार्फत गर्न विभाग, प्राधिकरण, बोर्ड, आयोग, विकास समिति र सबै महाशाखाहरुलाई निर्देशन दिएको छ ।

यसअघि एसपीपी सम्झौतामा सहभागी हुन नेपाली सेनाले लेखेको पत्रबारे परराष्ट्र मन्त्रालय नै अनविज्ञ देखिएपछि सरकारले अब वैदेशिक तथा कूटनीतिक सम्बन्धमा पत्राचार गर्दा एकद्वार नीति अपनाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायमा निर्णय कार्यान्वयन गर्न पत्र लेखेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement