काठमाण्डु – सरकारले काठमाण्डुमा तिब्बती अध्ययन सम्मेलन नगर्न निर्देशन दिएको छ ।
मुख्यसचिव गोविन्द बहादुर कार्की र परराष्ट्र सचिव अमृत बहादुर राईबिच भएको छलफलपछि सम्मेलन नगर्न निर्देशन दिइएको हो ।
मुख्यसचिव कार्कीले स्थानीय आयोजक काठमाण्डु विश्वविद्यालयलाई सम्मेलन नगर्न निर्देशन दिएको हो । काठमाण्डुमा तिब्बती अध्ययन सम्मेलनको तयारी भइरहँदा चीनले चासो व्यक्त गर्दै आपत्ति जनाएको थियो । नेपालले एक चीन नीतिको सम्मान गर्दै आएको छ ।
भदौ पहिलो हप्ताका लागि इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिज (आईएटीए) सम्मेलन गर्ने तयारी थियो । सरकारको निर्देशनपछि सम्मेलन स्थगित भएको काठमाण्डु विश्वविद्यालयको हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास) निर्देशक डा. सागरराज शर्माले बताए ।
काठमाण्डुमा हुने भनिएको आईएएफटीएको १७औं सम्मेलनको आयोजना हिकास र सेन्टर फर बुद्धिस्ट स्टडिज राङजुङ येसे इन्स्टिच्युटले गर्न लागेको थियो । सम्मेलनमा ३९ देशका ७२० जना प्रतिनिधि सहभागी हुने तय भएको थियो ।




प्रतिक्रिया