गोविन्द केसीको अनशनबारे प्रधानमन्त्री ओलीले भने : बेमौसममा कराउनेहरु केही दिनमा चुप लाग्छन्


काठमाडौं – डा. गोविन्द केसीलाई उक्साएर जुम्लामा भोकै सुत्न लगाएको प्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गरेका छन् ।

नेपाल कम्यनिष्ट पार्टी (ने क पा) संसदीय दलको बैठकलाई सोमबार सम्बोधन गर्दै डा गोविन्द केसीको अनसन र त्यसमा प्रतिपक्षी दल नेपाली कांग्रेसको समर्थनप्रति आक्रोशित देखिएका प्रधानमन्त्री ओलीले बेमौसममा कराउनेहरु आफैं चुप लाग्ने बताए।

प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा विधेयक, डा गोविन्द केसी, उपकुलपति जस्ता विषयमा आफ्ना सांसदहरुलाई अडानका साथ कुरा राख्न निर्देशन समेत दिए। ‘हामीले नराम्रो केही गरेका छैनौं। दृढताका साथ कुरा राख्नुपर्छ,’ उनले भने, ‘अरु चाहिँ साउनको सिस्नुजस्तो फस्टाउने अनि हामी चाहिँ ओइलाउने हुन्छ?’

उनले प्रतिपक्षी नेपाली कांग्रेसले कमजोर त्यान्द्रो समाएर आन्दोलन गर्न खोजेको बताएका छन् । संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक सरकारको नीति अनुसार नै भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘सरकारले आफ्ना नीति अनुसारका ऐन ल्याउँछ यसमा के अनौठो भयो र?’ प्रधानमन्त्री ओलीले भने ।

संस्कृत विश्वविद्यालयका उपकुलपति स्वीकृति नलिई विदेश जान लागेकोले उनलाई रोकिएको भन्दै ओलीले कोइरालामाथि थुप्रै उजुरी परेकाले छानबिन गर्ने बताए । ‘अहिलेका हल्लाले यो छानविन रोकिदैन’ उनले भने ।प्रधानमन्त्री ओलीले प्रतिपक्षी नेपाली कांग्रेसतिर लक्षित गर्दै हरेक कुरा संसदमा बहस गर्न चुनौती दिए । ‘विधि, विधान, कानुन संसदले बनाउने हो कि बाहिर बनाएर ल्याएर संसदमा थपडी ठोक्ने हो ?’ उनले प्रश्न गरे ।

यसैगरी प्रधानमन्त्री ओलीले शेरबहादुर देउवा सरकारले निर्वाचन आचारसंहिता लागू भएपछि गरेका नियुक्ति खारेजीको विषयलाई बचाउ गर्दै संस्थाहरुलाई राजनीतिक प्रदूषणबाट मुक्त गर्नका लागि यस्तो कदम चालिएको दाबी समेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement