गोविन्द केसी र गंगामायाको मुद्दा चर्काउने कांग्रेसको तयारी


काठमाडौं – जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसीलाई नेपाली कांग्रेसले समर्थन गर्ने भएको छ । कांग्रेसले केसीको अनशनको अवलोकन गर्न तीन सांसदलाई जुम्ला पठाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेसको बुधवार बसेको संसदीय दलको बैठकले सांसदहरु प्रकाश रसाइली, रंगमति शाही र दिनवन्धु श्रेष्ठलाई जुम्ला पठाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बैठकले केसीको अनशनमा ऐक्यवद्धता जनाउने निर्णय भएको बताए ।

उनकाअनुसार डा.केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तीन जना सांसद बिहिवार जुम्ला पठाउने निर्णय भएको छ । त्यसैगरी वीर अस्पतालमा छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आमरण अनशनमा रहेकी गंगामाया अधिकारीको अवस्था बुझ्न समेत कांग्रेसले तीन सांसद खटाएको छ ।

कांग्रेसका तीन सांसदहरु पार्वता डिसी चौधरी, अमरेशकुमार सिंह र वेद तिमल्सिनाले आजै अधिकारीलाई भेट्ने कार्यक्रम छ ।कांग्रेसले मूल्यवृद्धि फिर्ता लिन समेत माग गरेको छ । त्यसका साथै सरकारले निश्चित स्थानलाई मात्र प्रदर्शन र सभास्थल तोकेर अन्य क्षेत्रमा निषेध गरेकोमा समेत कांग्रेसले विरोध जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement