चेक बाउन्स भएपछि ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ

चेक बाउन्स भएपछि ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ


काठमाडौं – ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई बैंकिङ कसुरमा मंगलबार मध्यान्ह गौशालास्थित निवासबाट पक्राउ गरेको हो।

नरेशकुमार न्यौपानेको जाहेरीले उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।नेपालले २०७५ मंसिर २१ गते ६ लाख रुपैयाँको चेक दिएको र त्यो बाउन्स भएपछि न्यौपानेले प्रहरीमा उजुरी गरेका हुन्।

ग्रेटर नेपाल राष्ट्रवादी पार्टीले सुगौली सन्धि अगाडि नेपालले जितेको विशाल नेपाली भूभाग भारत र बंगलादेशबाट फिर्ता पाउने पक्षमा वकालत गर्दै आएको छ। नेपाल सो अभियानका पार्टी बन्नु अघिदेखि नै त्यसको नेतृत्वमा छन्। आफूलाई योजनाबद्ध रुपमा फसाइएको उनले बताए। घर भाडाबापत न्यौपानेले ६ लाख रुपैयाँ नगद बुझेको र सोही प्रयोजनका लागि त्योभन्दा अगाडि दिएको चेक बाउन्स गरी आफूलाई पक्राउ गरिएको उनको दाबी छ।

‘मैले नरेशकुमार न्यौपानेलाई घरभाडा बापत २०७५ मंसिर २१ गते ६ लाख चेक दिएको थिएँ’, उनले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ‘चेकको भुक्तानी मितिमा नगद ६ लाख रुपैयाँ बुझी आज चेक ल्याउन बिर्सिएँ भोलि फिर्ता गर्छु भनेकोमा चेक बाउन्स गरेर मलाई फसाउने काम भयो।’ पैसा दिइसकेपछि आफूले पटक–पटक चेक फिर्ता माग्दा न्यौपानेले नदिएको उनको दाबी छ। ‘पैसा लिइसकेपछि चेक पटकपटक फिर्ता माग्दा नदिएर अहिले निजले चेक बाउन्स गरी पक्राउ गर्न भूमिका खेले’, उनले भनेका छन्।