गृह मन्त्रालले भन्याे- सुरक्षाकर्मीलाई व्यक्तिगत काममा लगाएकाे पाइए उजुरी गर्नु

गृह मन्त्रालले भन्याे- सुरक्षाकर्मीलाई व्यक्तिगत काममा लगाएकाे पाइए उजुरी गर्नु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गृह मन्त्रालयले कार्यविधिविपरीत व्यक्तिगत तथा घरायसी काममा सुरक्षाकर्मी प्रयोग गरिएको पाइए उजुरी गर्न आग्रह गरेको छ।

मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सुरक्षाकर्मीलाई सुरक्षा प्रयोजनबाहेक अन्य व्यक्तिगत तथा घरायसी काममा प्रयोग गरिएको पाइएमा गृह मन्त्रालयको कल सेन्टरमा उजुरी दिन अनुरोध गरेको हो।

‘अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ अनुसार बहालवाला तथा पूर्वपदाधिकारीले पाउने व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) खटाउने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।

तर, पछिल्लो समय कार्यविधिमा उल्लेखित प्रावधानविपरीत सुरक्षाकर्मीलाई घरायसी तथा व्यक्तिगत काममा प्रयोग गरिएको गुनासो आएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयका अनुसार कार्यविधिविपरीत खटाइएका वा राखिएका सुरक्षाकर्मीलाई सात दिनभित्र आफ्नो दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन सम्बन्धित सुरक्षा निकायलाई असोज २२ गते नै निर्देशन दिइसकिएको छ।

निर्देशन तथा कार्यविधिविपरीत सुरक्षाकर्मी खटाइएको पाइएमा खटाउने सम्बन्धित अधिकृत वा पदाधिकारीमाथि कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।

त्यस्तै, सुरक्षाकर्मीलाई सुरक्षा प्रयोजनबाहेक अन्य घरायसी वा व्यक्तिगत काममा प्रयोग गरिएको पाइएमा खटिएका सुरक्षाकर्मी वा सर्वसाधारणले गृह मन्त्रालयको कल सेन्टरको मोबाइल नम्बर ९८५१३६०६०३ मा जानकारी तथा उजुरी दिन सक्नेछन्।

गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्द काफ्लेले उजुरी वा सूचना दिने व्यक्तिको गोपनीयता कायम राखिने जनाएका छन्।