गृहमन्त्रीकाे दाबी : कुमार पौडेल दोहोरो झडपमै मारिएका हुन्


काठमाडौं – गृहमन्त्री रामबहादुर थापा (बादल)ले गएको असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा प्रहरीको गोली प्रहारबाट विप्लवका सर्लाही इञ्चार्ज कुमार पौडेलको ज्यान गएको घटनाको जवाफ दिएका छन् ।

संसदको राज्यव्यवस्था समितिको सोमबारको बैठकमा मन्त्री थापाले गस्तिमा रहेका प्रहरीलाई लक्षित गर्दै आक्रमण गर्न थालेपछि प्रहरीले गरेको जवाफी कारवाहीमा  पौडेल मारिएको दाबी गरे ।

प्रहरीसँगको जवाफी कारवाहीमा अन्य तीन जना भने जंगलतर्फ भागेको र त्यसक्रममा प्रहरीले प्रहार गरेको गोली अर्को एक जनालाई लागेको आशंका गरिएको पनि गृहमन्त्री थापाले बैठकमा जानकारी दिए ।

विप्लव समूहले लालबन्दी र हरिऔन इलाकाका स्थानीय जनप्रतिनिधि, व्यापारी, व्यवसायी एवं सर्वसाधारण व्यक्तिहरुलाई धम्क्याउँदै चन्दा माग्ने र नदिएमा ज्यान मार्ने धम्कीहरु दिने गरेको गुनासो आएपछि प्रहरीले त्यसक्षेत्रलाई निगरानीमा राखिरहेको पनि मन्त्री थापाको भनाइ छ ।

घटनास्थलबाट प्रहरीले मेड इन युएसए लेखिएको रिभल्बर एक थान, कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली ६ थान बरामद गरेको जानकारी पनि मन्त्री थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement