आपराधिक क्रियाकलाप रोक्न गृहमन्त्रीले बनाए नयाँ कार्ययोजना


चितवन – गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले परिवर्तित अवस्थामा सूचना प्रविधिको प्रयोगबाट हुने आपराधिक क्रियाकलाप रोक्नका लागि नेपाल प्रहरीलाई आवश्यक पर्ने वैज्ञानिक स्रोतसाधनको सहजीकरण गर्दै संगठन सबलीकरण गर्न गृह मन्त्रालयले तयारी थालेको बताएका छन् ।

जुनियर प्रहरी अधिकृत शिक्षालय, भरतपुरमा संचालित २९१७५औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको सोही शिक्षालयमा आइतबार आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले उक्त कुरा बताएका हुन् ।

गृहमन्त्री थापाले मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा नेपाल प्रहरीलाई राज्य र आमनागरिकप्रति पूर्ण उत्तरदायित्व बहन गर्नेगरी सेवामुखी बनाउन, प्रहरी कर्मचारीको मनोबल उच्च राख्न, बृत्तिबिकासका अवसरलाई तदारुकताकासाथ कार्यान्वयन गर्न, प्रहरी सेवा नागरिक पहुँच र नागरिकमैत्री बनाउनका लागि गृह प्रशासन सुधार कार्ययोजना कार्यान्वयनमा आइसकेको उल्लेख गरे ।

राज्यको पुनःसंरचना र कानुनी रुपान्तरणका लागि राज्यले दिएको जिम्मेवारी मन, वचन र कर्मले सम्पादन गर्दै समाजका सिमान्तकृत वर्ग र समुदायलाई संरक्षण गर्न, अपराधवाट पीडितको संरक्षण र पिडकलाई कानुन बमोजिम दण्डित गर्नका लागि कटिबद्व हुन प्रहरी कर्मचारीहरुलाई उनले निर्देशन दिए ।

दीक्षित हुन लागिरहेका प्रहरी कर्मचारीहरुको प्रशिक्षणको समय समाप्त भई परीक्षणको समय शुरु भएको हुनाले अवको यात्रा “समृद्ध नेपाल सुखी नेपाली” को लक्ष्यतर्फ उन्मुख हुनुपर्ने उल्लेख गर्दै गृहमन्त्री थापाले भने, “गुनासो त्यसैसँग गरिन्छ जोसँग केही आशा र भरोसा हुन्छ ।”

कार्यसम्पादनको क्रममा स–साना वाधा र अडचनहरु स्वभाविक हुने हुँदा दीक्षित भईजाने नवप्रवेशी प्रहरी सहायक निरीक्षकहरुलाई आ–आफ्नो कार्यक्षेत्रमा आफूले सिकेका ज्ञान, सीप, कलालाई पूर्णरुपमा पालना गरी राज्यले दिएको जिम्मेवारीलाई सफलताका साथ सम्पन्न गर्न उनले शुभकामना दिए ।

सो अवसरमा गृहमन्त्री थापाले उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र र उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार वितरण समेत गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement