सुरक्षाकर्मीको योगदानले राष्ट्रपति सीकाे भ्रमण सफल : गृहमन्त्री थापा


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भमणको क्रममा प्रभावकारी रुपमा शान्ति, सुव्यवस्था कायम राख्न सफल भएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद दिएका छन् ।

आज गृहमन्त्रालयमा सुरक्षा निकायका अधिकारीहरुसँगको बैठकमा गृहमन्त्री थापाले भ्रमणका लागि तयार पारिएको सुरक्षा कार्ययोजना प्रभावकारी भएको भन्दै यसले विश्वस्तरमै नेपालको सुरक्षा राम्रो रहेको सन्देश प्रवाह भएको बताए ।

उनले सरकारले दिएका जिम्मेवारी सुरक्षाकर्मीले धेरै राम्रो ढंगले निभाएको भन्दै निति निर्माणमा संलग्नदेखि सडकमा खटिने सुरक्षाकर्मीसम्मको योगदानले भ्रमण सफल भएको टिप्पणी गरे । चिनियाँ पक्षले समेत भ्रमणको क्रममा नेपालले गरेको सुरक्षा व्यवस्थाको प्रशंसा गरेको गृहमन्त्री थापाले बैठकमा जानकारी गराए ।

गृहमन्त्री थापाले नेपाल एक चीन निती प्रति प्रतिवद्ध रहेको दोहाराउँदै आगामी दिनमा पनि नेपालबाट चीन विरोधी कुनै गतिविधि नहोस् भनेर सतर्क रहन सुरक्षा निकायका प्रतिनिधिहरुलाई निर्देशन दिए । उनले चिनियाँ राष्ट्रपति सिको भ्रमण ऐतिहाँसिक भएको तथा नेपालको आर्थिक, सामाजिक, सास्कृतिक विकासमा यो भ्रमण कोशेढुङ्गा सावित हुने विश्वाँस व्यक्त गरे ।

बैठकमा गृहसचिव प्रेमकुमार राईले सफल सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मीहरुलाई बधाई तथा धन्यवाद दिँदै यो अनुभवले आगामी दिनमा ठुलो सहयोग पुग्ने विश्वाँस व्यक्त गरे । बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक पुस्कर कार्की, नेपाली सेनाका उपरथि शशिचन्द्र बहादुर सिंह लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement