गुल्मी माइक्रो दुर्घटनाः ९ जनाको मृत्यु, आठ घाइते


काठमाडौं– गुल्मीमा भएको माइक्रोबस दुर्घटनामा नौजनाको मृत्यु भएको छ।

 

 

सोमबार बिहान तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नंको माइक्रोबस गुल्मी दरबार गाउँपालिका–४ मा दुर्घटनामा परेको थियो।

 

 

दुर्घटनामा नौजनाको मृत्यु भएको र आठजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए।

 

दुर्घटनामा ६ जनाको घटनास्थलमै र एकको उपचारका क्रममा तथा दुईजनाको पाल्पा लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी तीन महिला र ६ पुरुषको मृत्यु भएको छ।

 

 

मृत्यु हुनेमध्ये चारजनाको सनाखत भएको छ। सनाखत हुनेमा गुल्मी रेसुङ्गा नगरपालिका–८ मा पसल गर्ने सुमित्रा दर्लामी, अर्घाखाँची भगवतीका विष्णु पाण्डेय र चालक भीम घर्ती तथा अर्जै, गुल्मीका लालबहादुर मुखिया रहेका छन्।

 

 

गाडीका चालकको पनि पाल्पा लैजानेक्रममा मृत्यु भएको छ। सनाखतका लागि शव जिल्ला अस्पताल गुल्मीमा ल्याइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिनुभयो । घाइते हुनेहरुमा एक महिला, पाँच पुरुष र दुईजना बालक रहेको प्रहरीले जनाएको छ।

 

 

गाडीमा सवार चालकसहित १७ जना रहेका थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । दुर्घटनामा परेको गाडी सडकबाट करिब ३०० मिटरभन्दा बढी तल खसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement