गुमनाम महेश्वरले चम्काए देशको नाम, नून र भात नखाई गरेको तपस्याको फल


काठमाडौं – खेल संसारमा एकाएक खबर फैलियो – नेपालका महेश्वर महर्जनले विश्वव्यापी रेकर्ड बनाए । शारीरिक सुगठन (बडी बिल्डिङ) प्रतियोगितामा नेपालका महेश्वर महर्जन प्रथम भएको खबरले सबै नेपालीको ध्यान तान्यो ।

थाइल्यान्डमा प्रतियोगिता चलिरहेकोबारे खासै चर्चा थिएन । त्यसमा नेपालका महेश्वर महर्जनले सहभागिता जनाइरहेको खबर पनि खासै देखिएन । तर महर्जनले स्वर्ण पदक जितेपछि मात्रै एकाएक खबर ‘भाइरल’ बन्यो र उनलाई देशले चिन्यो । क्रिकेट, फुटवल लगायतका खेलमा नेपालीको सहभागिता नहुँदा पनि चर्चाको विषय बन्छन् । सरकारी प्राथमिकता, आर्थिक लगानी र स्रोतसाधन जुटाउने सन्दर्भमा पनि जनजीब्रोमा रहने खेल नै अग्रपंक्तिमा हुन्छन् । सरकारले खासै ध्यान नदिएको र सर्वसाधारणको चासो नहुने बडी बिल्डिङ प्रतियोगिताले पनि नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ ।

थाइल्यान्डमा आयोजित १० औं विश्वव्यापी शारीरिक सुगठन (बडी बिल्डिङ) प्रतियोगिता अन्तर्गत ७५ किलोग्राम तौल समूहमा नेपालका महेश्वर महर्जनले स्वर्ण जिते । महर्जनले जितेको स्वर्ण प्रतियोगितामा नेपालले जितेको हालसम्मकै ठूलो विश्वव्यापी सफलता हो । १२ राष्ट्रका खेलाडीको सहभागिता रहेको मानन्धरको समूह पहिलो चरणमा टप ५ जनाको छनौट गरिएको थियो । उत्कृष्ट ५ खेलाडीमा नेपालसहित भारत, सिंगापुर, थाइल्यान्ड, उब्जेकिस्तानका प्रतियोगी थिए ।

गत शनिबार भएको फाइनल राउन्डमा महर्जनले प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण जित्न सफल भए । भारतका जय प्रकाश दोस्रो भए भने सिंगापुर तेस्रो, थाइल्यान्ड चौथो र उज्बेकिस्तान पाँचौं भयो । नेपालका ३५ वर्षीय महर्जनले यसअघि भुटानमा भएको ५० औं एसियन बडी बिल्डिङ प्रतियोगितामा पनि स्वर्ण जितेका थिए ।

सरकारी सहयोग नपाउँदा दुःखेसो
अन्तर्राष्ट्रिय स्तरमै स्वर्ण पदक जित्दा महेश्वरलाई जति खुशी छ, त्यत्ति नै दुःख उनलाई सरकारबाट सहयोग नपाएकोमा छ । नेपालीले राम्रो गर्न सक्ने थुप्रै खेलमा सरकारको ध्यान जान नसकेकाले कारण महेश्वरको क्षमतालाई पनि सरकारले समयमै चिन्न सकेन । पत्रकार सच्ची मैनालीले गरेको कुराकानीका क्रममा स्वर्ण विजेता महेश्वरले सरकारी सहयोग नपाएकोमा दुःखेसो पोखे । महेश्वरले भनेका छन्, ‘साथीभाइले गर्ने समर्थन आफ्नो ठाउँमा छ । तर जहाँबाट सहयोग समर्थन पाउनुपर्ने हो, त्यो २२ वर्षसम्म पनि पाएको छैन । देशले गर्नुपर्ने हो गरेन । तर एउटा सपना थियो, त्यो पूरा भएकोमा म खुशी छु ।’

यसअघि नै एसियन स्तरको स्वर्ण जितिसकेका महेश्वरले विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा सहभागी हुँदा पनि सरकारबाट सहयोग नपाएको गुनासो गरे । प्रतियोगिताका लागि व्यक्तिगत रुपमा ८–९ लाख रुपैयाँ खर्च भएको उनले बताएका छन् । ‘फेरि यतिधेरै खर्च गरेर प्रतियोगितामा सहभागी हुन सक्दैन,’ उनले भने, ‘मैले नेपालको लागि खेलें, नेपालीको लागि खेलें । म नेपाल आमाको छोरा हुँ । म विजेता हुँदा नेपालको नाम रह्यो ।’

नून र भात नखाई जितेको पदक
महेश्वरले एकाएक विश्वव्यापी पदक जितेका होइनन् । उनले यसका लागि ठूलो तपश्या गर्नुप¥यो । खानपान नियन्त्रणदेखि शारीरिक व्यायामको लामो प्रयासपछि उनलाई ठूलो सफलता मिलेको छ । महर्जनले प्रतियोगिताको तयारीका लागि ६ महिनादेखि नून खान छोडे । नूनले तौल बढाउने भएकाले प्रतियोगिताभन्दा धेरै अगाडिदेखि नून खानु हुँदैन । महर्जनले भात खान पनि छाडेका थिए ।

उनले दैनिक ३० वटा अन्डाको सेतो भाग र एक किलो कुखुराको ब्रेस्ट खाएर दैनिक ८ घण्टा जिम गर्ने गरेका थिए । महेश्वर काठमाडौंको छाउनीका वासिन्दा हुन् । नेपालमा बडी बिल्डिङ एसोसियसन स्थापना भएको छ । तर नेपाल खेलकुद परिषद्ले यसलाई खासै महत्त्व दिने गरेको छैन । जसले गर्दा खेलाडीले सहयोग नपाएको बताउने गरेका छन् । विश्वव्यापीस्तरको स्वर्ण जितेपछि एकाएक खेलप्रति चासो बढेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement