बोक्सी प्रकरण: कैलालीमा घोडाघोडीका मेयरमाथि गोली प्रहार


काठमाडौं– अज्ञात समूहको आक्रमणबाट कैलाली, घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी घाइते भएका छन् । नगरपालिकाको सुख्खड बजारस्थित उनकै निवासमा गएको अज्ञात समूहले आज साँझ उहाँमाथि खुकुरी प्रहार गर्नाका साथै गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।

प्रमुख चौधरीलाई उपचारका लागि घोडाघोडी अस्पतालमा लगिए पनि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रजिअ गोविन्दप्रसाद रिजालले जानकारी दिए । उनको खुट्टा र कम्मरमा गोली लागेको छ । त्यस्तै टाउकामा खुकुरी प्रहार भएको छ ।

नगरपालिका, देउकलिया गाउँमा गत बिहीबार राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट गरिएको घटनालाई गाउँमै मिलाउन खोजी प्रहरी कार्यालयमा उजुरी गर्न नदिएको आरोप प्रमुख चौधरीलाई लागेको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गत बिहीबार स्थानीय राधा चौधरीलाई बोक्सी भन्दै कुटपिट भएको घटनाका संलग्नलाई कारबाही गर्न सहयोग गर्नुको सट्टा मुकदर्शक बनेको भन्दै उनको आलोचना भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement