गोली चलाउनै लाग्दा गुन्डानाइके गणेश लामा पक्राउ


काठमाडौं – गुन्डानाइके गणेश लामा हतियारसहित पक्राउ परेका छन् । प्रहरीले उनीसँग टाइप ५४ लेखिएको चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद गरेको छ । लामाको बा.३च १७२ नम्बरको प्राडो गाडी पनि नियन्त्रणमा लिइएको छ ।

प्रहरीका अनुसार गौशालाको पिंगलास्थानमा बुधबार राति करिब साढे ९ बजे अज्ञात समूहले आफूलाई लक्षित गरेर गोली प्रहार गरेपछि प्रतिकारमा लामाले पनि गोली चलाउने तयारी गर्दै थिए । त्यहीवेला उनी पक्राउ परे । लामालाई गोली प्रहार गर्ने समूहलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले लामालाई गोली प्रहार गर्ने तयारीमा रहेको अवस्थामा पक्राउ गरिएको बताए । ‘लामा पेस्तोल र गोलीसहित पक्राउ परेका छन् । उनले कसैलाई गोली प्रहार गर्न खोज्दै थिए । सोही क्रममा उनी पक्राउ परेका छन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ । थप जानकारी भोलि मात्रै आउनेछ,’ उनले भने ।

लामालाई महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पिंगलास्थानमा बुधबार स्थानीय जात्रा लाग्दै थियो । सर्वसाधारणको भिड बाक्लै थियो । एक्कासि गोली चलेको आवाज आएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । त्यहाँ लामाले कसैलाई लखेटिरहेका थिए । त्यही क्रममा उनी पक्राउ परेका हुन् । शरीर खानतलासी गर्ने क्रममा उनको साथबाट पेस्तोल बरामद भयो । प्रहरीका अनुसार बरामद पेस्तोलमा एक थान गोली चेम्बरमा लोड गरिएको छ भने बाँकी म्यागजिनभित्रै भेटिएका छन् ।

बयानका क्रममा लामाले आफूलाई अज्ञात समूहले गोली हानेको बताएका छन् । ‘लामा गाडीभित्रै थिए । एक्कासि गोली प्रहार भयो । लामा गाडीबाट उत्रिए । आफूसँग रहेको पेस्तोल झिक्दै गोली प्रहार गर्ने व्यक्तिलाई लखेट्न उत्रिए । तर, गोली प्रहार भने गर्न भने भ्याएनन् । यही क्रममा हाम्रो टोली पुग्यो । उनी पक्राउ परे,’ लामाको बयानमा संलग्न एक प्रहरी अधिकारीले भने । लामा कांग्रेसको तर्फबाट काभ्रेबाट प्रदेश सभाको उम्मेदवार थिए । तर, पराजित भएका थिए ।

पहिले सक्रिय, अहिले सुस्त
लामामाथि गुन्डागर्दी, चन्दा असुली, ज्यान मार्ने उद्योगदेखि अकुत सम्पत्ति संकलनलगायतका आरोप छन् । ६० को दशकमा काभ्रेबाट काठमाडौं छिरेका उनको अपराध कर्म ठमेलबाट सुरु भएको हो । दीपक मनाङेको छत्रछायामा अपराध कर्ममा लागेका उनले पछि आफ्नै समूह बनाए । ४१ भन्दा धेरै सदस्य रहेको उनको समूहमा अधिकांश काभ्रेका युवा थिए ।

लामा ०६५ देखि विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा आबद्ध भएर राजनीतिमा उत्रिए । फोरम र कांग्रेसबीच एकीकरण भएपछि गत निर्वाचनमा उनी काभ्रेबाट प्रदेश सभामा उम्मेदवार बनेर पराजित भए । पछिल्लो समय अपराधकर्ममा उनी सुस्त देखिएका थिए । यद्यपि, ठमेलको क्लब र विभिन्न क्रसर उद्योगमा उनको लगानी यथावत् छ । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement