काठमाण्डु–ठेकेदारको खुट्टा भाँचिदिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालको अभिव्यक्तिप्रति राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले समर्थन जनाएका छन् ।
शाहीले मन्त्री लम्सालको अभिव्यक्तिलाई आशय हिंसा प्रवद्र्धन गर्नु नभई कानून मिच्ने, लापरबाही गर्ने र जनताको काममा बेवास्ता गर्ने प्रवृत्तिविरुद्धको कडा सन्देशका रुपमा व्याख्या गरेका छन् ।
‘भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालज्यूले खुट्टा भाँच्ने अभिव्यक्ति दिएको भन्दै केहीले विरोध गरिरहेका छन्,’ उनले शाहीले लेखेका छन्, ‘तर मेरो बुझाइमा उक्त अभिव्यक्तिको आशय हिंसा प्रवर्द्धन गर्नु होइन, कानुन मिच्ने, लापरबाही गर्ने र जनताको काममा बेवास्ता गर्ने प्रवृत्तिविरुद्ध कडा सन्देश दिनु हो ।’
जनताको सेवामा बसेर आफ्नो जिम्मेवारी पूरा नगर्ने, काममा ढिलासुस्ती गर्ने र राज्यको प्रणालीलाई कमजोर बनाउनेहरूलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्नैपर्ने शाहीले बताए ।
जनताले बहाना नभई परिणाम चाहेको भन्दै उनले अनुशासन, जवाफदेहिता र परिणाममुखी कार्यसंस्कृति स्थापित नगरी सुशासन सम्भव नहुने उल्लेख गरे । ‘जिम्मेवारीबाट भाग्नेहरूलाई संरक्षण होइन, कानुनअनुसार उत्तरदायी बनाउने समय आएको छ, शाहीले लेखेका छन् ।




प्रतिक्रिया